रत्ननगर तेस्रो मेयर कप : राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश
चितवन । पूर्वी चितवनको रत्ननगरमा जारी दुई लाख पुरस्कार राशिको तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगितामा राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा कालिका नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरि राप्ती नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा राप्तीका निसान तामाङ म्यान अफ दी म्याच घोषित भएका छन् ।
भोली मङ्गलवार भरतपुर महानगर र हेटौडा उपमहानगर बीच दोस्रो क्वाटर फाइनल खेल हुनेछ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्ययोजना अन्तर्गत तेस्रो अन्तरपालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले जानकारी दिनुभयो ।
नेपाल माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा चितवनका सात, मकवानपुरका दुई र नवलपरासीको एउटा पालिका १० वटा टिमले सहभागिता जनाएको खेलकुद विकास समितिका संयोजक चौधरीले बताउनुभयो । खेलकुद क्षेत्रको विकास र राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख ११ हजार १११, द्वितीय हुने टिमलाई १ लाख ५१ हजार १११ सहित पदक, ट्रफि र प्रमाणपत्र प्रदान गरिने नगर स्तरीय खेलकुद विकास समितिका सहसंयोजक सौगात भुजेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्