बाढि पहिरोबाट विस्थापित १ सय ८ परिवारका लागि पक्की घर निर्माण
बाजुरा । बाजुराको पूर्वी उत्तरी क्षेत्र स्थित जगन्नाथ गाउँपालिका वडा नम्बर ६ पाल्त्याडीमा बाढी पहिरोबाट विस्थापित १सय ८ परिवारलाई सरकारद्वारा पक्की घर निर्माण गरिएको छ ।
घर निर्माणसँगै उक्त क्षेत्र ‘नमुना बस्ती’का रुपमा स्थापित भएको छ। तीन ओटै तहका सरकारको संयुक्त लागतमा पाल्त्याडीमा बनाइएको यो जिल्लाकै एकीकृत नमुना बस्ती हो । २०७९ असोज २२ देखि २४ गतेसम्मको अविरल वर्षाले गाउँपालिकाका ६ वटै वडाहरूमा धनजनको क्षति गरेको थियो । जमिन पहिरोका कारण थिलथिला भएपछि १सय ८ परिवार विस्थापित भएका थिए ।
विस्थापित परिवारको पुनर्स्थापना गर्न जगन्नाथ गाउँपालिकाले एकीकृत नमुना बस्तीको अवधारणा अनुसार प्रदेश र संघ सरकारसँग समन्वय गरेर प्रक्रिया अघि बढाएको थियो । संघ सरकारको ६० प्रतिशत, प्रदेश सरकारको ३० प्रतिशत र स्थानीय तहको १० प्रतिशत अनुदानमा नमुना बस्ती निर्माण गरिएको हो ।जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीका अनुसार पहिरो बाट विस्थापित भई ‘त्रिपाल मुनि बसिरहेका परिवारका लागि पहिलो आवश्यकता घर नै हो भनेर एकीकृत नमुना बस्ती बसालिएको हो।
उहाँकाअनुसार अहिले यो बस्तीमा खानेपानी र विद्युत् पुर्याउन सकिएको छैन । यो वर्ष त्यसको पनि व्यवस्थापन हुने छ ।
बाढीपहिरोबाट विस्थापित परिवारहरू सरकार द्वारा पक्की घर निर्माण गरिए सँगै निकै उत्साहित भएका छन् ।बस्ती स्थानान्तरण पछि पीडितहरूले अब तत्काल खानेपानी, शौचालय र बिजुली बत्तीको समेत तत्काल व्यवस्था गरिदिन सरकार सँग आग्रह गरेका छन् ।
सरकारको पहिलो किस्ताको रकमले घर निर्माण कार्य अन्तिम चरमा पुगे पनि बाँकी किस्ता निकासा नहुँदा समस्या भएको स्थानीय रंगमल सार्कीले बताउनुभयो ।
बाजुराका अन्य पालिकामा भने पुनर्निर्माण हुन लागेका घर अलपत्र अवस्थामा रहेका छन् । जगन्नाथ बाहेक अन्य ८ पालिकामा पहिरोले विस्थापित भएका ४ सय ७२ घर निर्माणका लागि बजेट नआएको भन्दै घर निर्माण कार्य हुन सकेको छैन।
प्रतिक्रिया राख्नुहोस्