तपाईँ सुन्दै हुनुहुन्छः

विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न उत्थानशील परियोजना लागु

अछाम । अछामको मङ्गलसेन नगरपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्ने उद्देश्यले उत्थानशील परियोजना लागु भएको छ ।

यो परियोजनाले नगरपालिकामा दुई बर्ष सम्म काम गर्ने जानकारी गराइएको छ । नगरपालिकामा विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्ने, पालिका सँग समन्वय गर्दै वडा तथा पालिका स्तरका विपद व्यवस्थापन समितिका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने, नगरपालिकाले निर्माण गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्ने यो परियोजनाको उद्देश्य रहेको छ ।

विपद्जन्य घटना न्युनिकरणका लागि सचेतिकरण गर्ने र यो सँगै पालिकामा आर्थिक पुनरलाभ तथा बजार प्रणाली सुदृढीकरण तर्फ पनि काम गर्ने मङ्गलसेन नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभएको छ ।

यो परियोजना अहिले पालिकाका वडा न ४, ९, १०, ११ र १२ मा पहिलो चरणमा लागु हुने अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको थियो । मङ्गलसेन नगरपालिकाका सबै जनप्रतिनिधि लगायत यस क्षेत्र सँग सरोकार राख्ने व्यक्तिहरूलाई बोलाएर संस्थाले दुई वर्षको अवधिमा पालिकामा गर्ने गतिविधिको बारेमा जानकारी समेत गराइएको छ ।

सोही अवसरमा नगरपालिका र परियोजना बिच भएको सम्झौतामा संयुक्त रुपमा हस्ताक्षर गर्नुका साथै सम्झौता पत्र आदान प्रदान समेत गरिएको छ । सामुदायिक विकास केन्द्र डोटी द्वारा सञ्चालित उक्त परियोजनाको ५० लाख र पालिकाको १२ लाख गरि ६२ लाख यस क्षेत्रमा खर्च गरिने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button