तपाईँ सुन्दै हुनुहुन्छः

कुल सेवाग्राही तथा शय्याको १० प्रतिशत सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत तोकिएका सेवाग्राहीलाई अनिवार्य निःशुल्क सेवा दिन निर्देशन दिएको छ ।

उपमहानगरले नेपालगन्ज भित्रका सबै अस्पताल तथा निजी स्वास्थ्य संस्थालाई पत्र काट्दै गरिब, विपन्न, असहाय, अपाङ्ग, सिमान्तकृत लगायतका सेवाग्राहीहरूलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

नगर प्रमुख प्रशान्त विष्टद्वारा जारी गरिएको पत्रमा नेपालगन्ज उपमहानगरपालिका नगर स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालहरूले कुल सेवाग्राही तथा शय्याको कम्तीमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सिमान्तकृत लगायतका सेवाग्राहीहरूलाई अनिवार्य निःशुल्क सेवा दिने व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको छ ।

पटक–पटक पत्राचार गर्दा समेत सेवाग्राहीबाट गुनासो आएको भन्दै उपमहानगरले अब पनि यो निर्देशनलाई अटेरी गर्दै कार्यान्वयन नगरेको पाइएमा कारबाही हुने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button