निःशुल्क बाल क्यान्सर उपचार सेवा शुभारम्भ
काठमाडौँ । सरकारले देशभरका १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत, साधन, जनशक्ति र पूर्वाधार बीच असीमित सेवा दिने सङ्कल्प लिएर देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाउने कार्य अन्तर्गत १४ वर्ष मुनिका १६ लाख बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार सेवा प्रारम्भ भएको बताउनुभयो ।
विश्व स्वास्थ्य सङ्गठनको सहयोग र अन्य निकायहरूको समन्वयमा नपुग स्रोत नेपाल सरकारले व्यवस्था गर्ने गरी सो सेवा सुरु भएको मन्त्री पौडेलले बताउनुभयो ।
उहाँले स्वास्थ्य बिमाको रकम भुक्तानी नपाएको विषयमा अध्ययन हुँदा अस्पतालले बिरामी जाँचेको तथ्याङ्क बढी देखाएको भन्दै त्यस्ता अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभयो ।
मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल (काठमाडौँ), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्