अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया सुरु
काठमाडौँ । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलले आज आयोजना गरेको कार्यक्रममा डिपोका प्रमुख प्रदीपकुमार यादवले २०८४ मङ्सिरभित्रै स्थानान्तरण गरिसक्ने जानकारी दिनुभयो ।
डिपो सार्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयारका लागि निगमको सिनामंगल डिपो र पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबिच दुई पक्षीय सम्झौता भएको छ ।
सम्झौतामा सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादव र संस्थानका सहप्राध्यापक नारायण गौतमले हस्ताक्षर गर्नुभएको छ ।
डीपीआर तयार गर्नका लागि रु १ करोड ९८ लाख रकम बराबर लागत लाग्ने प्रमुख यादवले बताउनुभयो । इन्धन डिपो स्थानान्तरणको विषय विगत केही वर्षदेखि उठ्दै आएको थियो। सरकारले पनि स्थानान्तरणको काम अगाडि बढाउने निर्णय समेत गरेको छ । गत साउन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले एक वर्षभित्र डिपो स्थानान्तरणका लागि काम अगाडि बढाउने सहमति दिँदै निर्देशन दिएको थियो ।
सोहीअनुसार आयल निगमले विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै आधुनिक र सुविधा सम्पन्न बनाएर आइकाओको मापदण्डअनुसार निर्माण गर्न डीपीआर तयार पार्न पुल्चोक इन्जिनियरिङ संस्थान (कन्सल्टेन्सी सेवा)लाई जिम्मा दिएको छ ।
अहिले विमानस्थलको डिपो रनवे तथा समानान्तर ट्याक्सी–वेबाट ९० मिटरकै दुरीमा छ ।
आइकाओको मापदण्डअनुसार १ सय ७२ दशमलव ५ मिटर दुरी हुनुपर्ने भनेको छ । सोहीअनुसार डिपो स्थानान्तरणका लागि काम सुरु भएको हो । सोही अनुसारको डीपीआर तयार गरिने र डीपीआरअनुसार नै डिपो स्थानान्तरण हुने आयल निगमले जनाएको छ ।
विमानस्थलमा रहेको डिपोको क्षमता अहिले १५ दिनको माग थेग्ने रहेको छ । यसलाई समेत विस्तार गर्ने निगमले जनाएको छ। अहिलेको डिपोको पूर्वाधार पुरानोसमेत भइसकेको छ ।
आधुनिक प्रविधिअनुसार चल्न पनि डिपोको पूर्वाधार अत्याधुनिक बनाउने गरी अध्ययन हुने निगमले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्