राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।
अजरबैजानको बाकु सहरमा सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आउनुभएका राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलको भनाइ थियो । उहाँले नेपाल सार्कका क्रियाकलाप अगाडि बढाउन प्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गर्दछ भन्नुभयो ।
काठमाण्डौ र मालेबीच सम्पर्क सञ्जाल विस्तार गर्न गर्न आवश्यक रहेको तथा माल्दिभस्बाट नेपाल भ्रमणमा आएर पर्यटकहरूले यहाँ विशिष्ट अनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपति पौडेलले दुवै देशको आर्थिक विकासमा सघाउ पुग्ने गरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि लागि प्याकेजसहित प्रवर्दन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनिकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताउनुभएको थियो ।
राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई आजै सम्बोधन गर्नुभयो ।
यही कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा.हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी शहर बाकु आइपुग्नुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्