तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा धानको उत्पादकत्व घटेपनि उत्पादन बढ्ने प्रक्षेपण 

चितवन । चितवनमा यसबर्ष धानको उत्पादकत्व बढेपनि उत्पादन भने बढ्ने भएको छ । 

यसवर्ष धानमा रोगको प्रकोप र बाढी र पाक्न लागेको धानमा बर्षाले क्षति गरेकोले उत्पादकत्व घटेको हो । कृषि विकास कार्यालय चितवनका अनुसार विगतका वर्षमा धानको उत्पादकत्व प्रति हेक्टर चार दशमलब तीन मेट्रिक टन थियो । यो बर्ष उत्पादकत्व घटेर तीन दशमलब नौ मेट्रिक टन भएको छ । कार्यालयका योजना शाखा प्रमुख निर्मल पौडेलले यसवर्षको बर्खे धानको जिल्लाको धानको क्षेत्रफल बढेपनि पनि उत्पादकत्व घटेको बताउनु भयो  । शाखा प्रमुख पौडेलले भन्नुभयो, ‘यसवर्ष धानको उत्पादन बढ्छ, बर्खे धानको क्षेत्रफल नै अहिले बढी छ ।’

यो साल असोजमा आएको बाढीले चितवनको खैरहनी र रत्ननगरको धानखेतीमा बढी असर गरेको कार्यालयको भनाइ छ । रत्ननगर र खैरहनीका क्षेत्रहरू धान जोन क्षेत्रमा पर्छन् । बाढीले धान जोन क्षेत्रमा बढी क्षति गरेको थियो । चितवनको ३० हेक्टरमा रहेको धानलाई गत असोजमा आएको बाढीले क्षति गरेको विवरण कृषि विकास कार्यालयले निकालेको छ ।

‘चितवनमा बाढीको कारणले धान उत्पादनमा ठूलो गिरावट आएको छैन, क्षति निकै कम भएको हो, एक साताअघि आएको बाढीले काटेको धानमा क्षति गरेको हो’, पौडेलले भन्नुभयो  ‘यसका बाबजुद पनि बर्खे धानको क्षेत्रफल बढेको हुनाले चितवनमा उत्पादन बढ्ने देखियो ।’

उहाँले यसवर्ष चितवनमा झन्डै २७ हजार हेक्टरमा धानखेती भएको बताउनु भयो  । उहाँले भन्नुभयो, ‘विगतका वर्षहरुमा मुस्किलले २३/२४ हजार हेक्टरमा मात्र धान लगाइएको पाइन्थ्यो, यसपटक क्षेत्रफल बढेको हुनाले धानको उत्पादन त पक्कै बढ्ने देखिएको छ ।’

आर्थिक वर्ष ०५५/५६ मा चितवनमा ३० हजार हेक्टर, ०५९/६० मा ३१ हजार १९८ हेक्टरमा बर्खे धान लगाइएको तथ्याङ्क कृषि कार्यालयसँग छ । पछिल्ला वर्षहरुमा जिल्लामा बर्खे धानको क्षेत्रफल घट्दै आएर २२ हजार ८७० हेक्टरमा सीमित थियो । माछापालन र तरकारी खेतीले धानको क्षेत्रफल घटेको बताइन्थ्यो, तर कृषि विकास कार्यालयले यसवर्ष चितवनको धानको क्षेत्रफल २७ हजार पुगेको दाबी गरेको छ ।

कृषि विकास कार्यालयले अहिलेको क्षेत्रफल अनुसार चितवनमा यसवर्ष एक लाख ५ हजार मेट्रिक टन धान उत्पादन हुने प्रक्षेपण गरेको छ, जुन गत वर्षको तुलनामा झन्डै १० हजार मेट्रिक टन उत्पादन बढी हो । ‘उत्पादकत्व घटे पनि उत्पादन बढ्ने तथ्याङ्क आउने स्पष्ट देखियो, हामी विवरण निकाल्ने अन्तिम तयारीमा छौँ’, योजना शाखा प्रमुख निर्मल पौडेलले भन्नुभयो ।

आर्थिक वर्ष ०५५/५६ मा चैते धानको क्षेत्रफल तीन हजार ७५० हेक्टर थियो, तर ०७९/८० मा आइपुग्दा चैते धानको क्षेत्रफल बढेर पाँच हजार पाँच सय नाघेको छ । चैते धानको उत्पादकत्व बर्खे धानको तुलनामा बढी छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलब ६ टन रहेको कृषि विकास कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button