मंसिर १६ : सप्तरीको दुई वडामा उपनिर्वाचन हुँदै
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
नगरपालिकाको वडा नम्बर १ र ४ का वडा अध्यक्षको मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन हुन लागेको ती दुवै वडाको पदमा यस अघि काँग्रेसबाट क्रमशः प्रितमलाल चौधरी र हरि प्रसाद राय चुनाव जित्नुभएको थियो । चौधरी र रायको निधन भएका कारण रिक्त हुन गएको पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यसअघि दुवै वडामा काँग्रेसले पहिल्यै जितेका ठाउँ भएकाले आफूहरूका लागी यो उपनिर्वाचन निकै महत्वपूर्ण भएको नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साहले बताउनुभयो ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागी निर्वाचन कार्यालयले मंसिर २ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका सार्वजनिक गरेकाले दलहरू अहिले उम्मेदवार छान्न र आ–आफ्नो पक्षमा माहौल बनाउन व्यस्त छन् ।
नेपाली काँग्रेसले वडा वडा नं बाट हालसम्म नाम टुंङ्गो नलागेको र वडा नं. ४ बाट जोगेन्द्र रायलाई उम्मेदवार बनाउने निर्णय गरेको सभापति साहले बताउनुभयो ।
यस्तै नेकपा एमालेले पनि वडा नंबाट नाम टुङ्गो लगाई नसकेको र वडा नं ४ मा भने संजय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने वडा नं १ मा राम अधिन सन्त र वडा नं ४ मा अरविन्द कुमार रायलाई उम्मेदवार बनाएको लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाले जानकारी दिनुभयो। जनमत पार्टीले वडानं ४ बाट उदय नारायण पण्डितलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला इन्चार्ज रामगमन साहले बताउनुभयो । वडा नं १ मा भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी नै रहको उहाँको भनाई छ । नेकपा माओवादी केन्द्रले वडा नं १ बाट सन्तोष पन्त र वडा नं ४ बाट विन्दा रामलाई उम्मेदवार बनाएको नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य अशोक कुमार मण्डलले जानकारी दिनुभयो ।
यहाँ नेकपा एकिकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, आम जनता पार्टी (आजपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) लगायतका दलहरूले पनि उम्मेदवारी दिने तयारी गरिरहेको बताएका छन् ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा न ४ मा १ हजार २ सय ८१ मतदाता रहेका छन् । निर्वाचनका लागि ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिनुभयो । मंसिर १६ गते आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजे सम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीले उपनिर्वाचन भयरहित वातावरण तथा शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्धबारे तयारी गरिरहेको जनाएको छ । प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले उपनिर्वाचनमा सुरक्षा चुनौती, आवश्यक प्रहरी जनशक्ति, मतदान केन्द्र र मतदान स्थललाई विश्लेषण गरेर निर्वाचन सुरक्षा रणनीति बनाउन लागिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्