तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा पहिलोपटक खानेपानी परिक्षण प्रयोगशाला स्थापना 

जाजरकोट । जिल्लामा पहिलो पटक खानेपानी गुणस्तर परिक्षण प्रयोगशाला स्थापना भएको छ । 

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग र जाजरकोट खलङ्गा सहलगानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आर्थिक सहयोगमा उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । 

डब्लुएचओको प्राविधिक सहयोगमा सञ्चालन गरिएको प्रयोगशाला विभिन्न १२ वटा प्यारामिटरमा पानीको गुणस्तर जाँच गर्न सकिने उपभोक्ता समितिका अध्यक्ष किरण कुमार भण्डारीले बताउनुभयो । जाजरकोटमा स्थापना गरिएको प्रयोगशाला कर्णाली प्रदेशकै दोस्रो हो । यस अघि यस्तो प्रयोगशाला सुर्खेतमा मात्रै रहेको थियो । उक्त प्रयोगशालामा डिस्टिलरी वाटर समेत उत्पादन गरिने अध्यक्ष भण्डारीको भनाइ छ।

 प्रयोगशालाको उद्घाटन गर्दै भेरी नगरपालिकाका नगरप्रमुख चन्दप्रकाश घर्तीले खानेपानीको जाँचले उपभोक्ताहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । दूषित खानेपानीका कारण विभिन्न रोग लाग्ने र त्यसले नागरिकको स्वास्थ्य सङै आर्थिक क्षेत्रमा समेत क्षति गर्ने भन्दै प्रमुख  घर्तीले प्रयोगशाला स्थापना पछि खानेपानीमा शुद्धता ल्याइ स्वस्थ जीवन जिउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रयोगशाला मा आफ्ना उपभोक्ता लाई निःशुल्क रुपमा खानेपानीको गुणस्तर जाँच गरिने छ भने अन्य उपभोक्ता लाई शुल्क लिएर परिक्षण गरिने उपभोक्ता समितिका अध्यक्ष भण्डारीको भनाई छ । यस प्रयोगशालाबाट जाजरकोट सहित अन्य छिमेकी जिल्लाका नागरिकहरूले समेत सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button