धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
वीरगंज । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताउनुभएको छ ।
तराई मधेशमा भव्यरुपमा मनाइने छठपर्वको जनकपुर र वीरगंजमा स्थलगत अवलोकन पछि आज बाराको प्रसिद्ध धार्मिक स्थल गढीमाई पुग्नु भएका महामन्त्री थापाले गढीमाईमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देशभित्रका जाति जनजाति भाषा धर्म संस्कृतिलाई बुझे मात्र देश बुझ्न सकिने कुरामा जोड दिनुभयो ।
उहाँले मधेशलाई बुझ्न जनकपुर, वीरगंज, सिम्रौनगढ, गढीमाई पुग्नै पर्ने बताउनुहुँदै मधेस अन्नको भण्डार रहेको हुँदा मधेसका कृषिका समस्यालाई राज्यले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
महामन्त्री थापाले गढीमाईको महत्व अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको हुँदा यसबर्ष लाग्ने गढीमाईको पञ्चवर्षीय मेला तथा यहाँको धार्मिक पर्यटन प्रबद्र्धन गर्न आवश्यक सहयोगका लागि पर्यटन मन्त्रालयलाई आग्रह गर्नुभयो ।
उहाँले आफु यसपटक जनकपुरका साथै वीरगंजको राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चित घडिअर्वा छठ घाट पोखरीको आज बिहान सपरिवार स्थलगत अवलोकन गर्ने अवसर जुटेकोमा खुशी व्यक्त गर्दै आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौँको कमलपोखरीमा समेत भव्यरुपमा छठ पर्व मनाइने संस्कार बढ्दै गएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्