पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार चीनबाट पहिलो चाटर्ड फ्लाइट हुँदै
पोखरा । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २ वर्ष हुँदै गर्दा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडान हुन नसके पनि चाटर्ड फ्लाई भने कहिलेकाहीँ हुँदै आएको छ । यसै सन्दर्भमा यस वर्षको पहिलो चाटर्ड फ्लाइट चाइनाबाट भोलि बिहीबार हुने भएको हो ।
यस वर्षको पहिलो चाटर्ड फ्लाईट चाइनाको कुनमिङ सहरबाट भोलि (बिहीबार) सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका उपनिर्देशक जशोधा सुवेदीले बताउनुभयो । उहाँका अनुसार दिउसो २ः४० बजे एयरबस ३१९ नम्बरको विमान पोखरा आएसँगै दिउँसो ४ः१५ बजे रित्तै काठमाडौँ प्रस्थान गर्ने समय तालिका रहेको उहाँले जनाउनुभयो ।
अघिल्लो वर्षमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ वटा चाटर्ड फ्लाईट भएको उपनिर्देशक सुवेदीले उल्लेख गर्नुभयो । पोखरामा नियमित रुपमा अन्तर्राष्ट्रिय हवाई उडानको लागि पहल भई रहेको उहाँको भनाई थियो ।
पोखरामा आउँदो शनिबार (कार्तिक २४ गते) हुने तेस्रो संस्करणको पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता २०८१ मा सहभागी हुने चाइनाबाट खेलाडी सहितका केही अतिथिहरू समेत उक्त विमानले ल्याउने प्रतियोगिताका संयोजक विश्वशंकर पालिखेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्