बैजनाथमा थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता हुने
बाँके । बाँके जिल्लाको बैजनाथ गाउँपालिका–५ बनकटवामा कात्तिक २१ र २२ गते दुई दिने थारु लोक गीत तथा पौराणिक नृत्य प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। ‘थारु कला संस्कृतिको उत्थान, थारु भेषभुषा हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय थारु कलाकार मञ्च बाँकेको आयोजना र पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको सहयोगमा हुने यो प्रतियोगिताबाट थारु समुदायका करिब १८ लाख व्यक्तिहरूलाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा लाभान्वित हुने आयोजकको विश्वास छ। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष विनोद थारु (रामु)ले थारु कला, संस्कृति र परम्पराको जगेर्नाका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
प्रतियोगितामा २५ भन्दा बढी टिमका थारु पौराणिक नृत्य प्रस्तुत हुनेछन् भने विभिन्न थारु खानाका परिकारहरूको स्वाद लिन पनि सकिनेछ। कार्यक्रम निःशुल्क रूपमा सबैलाई खुला गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्