तपाईँ सुन्दै हुनुहुन्छः

झापामा छठको चहलपहल शुरु

झापा । हिन्दू धर्मावलम्बीहरुको दुई ठूला महत्वपूर्ण चाड दशैं र तिहार सकिए लगत्तै झापामा छठ पर्वको चहलपहल सुरु भएको छ ।

झापाका विभिन्न नदी, पोखरी र खोला–किनारहरूमा छठ पर्वको लागि घाट निर्माण र सजावटका काम सुरु भएको छ भने बजारमा छठका लागि आवश्यक सामग्री उपलब्ध हुन थालेका छन् । अहिले नदी–खोला घाटलाई झकिझकाउ पारिँदै छ । छठ पूजाका लागि झापाको मेची, निन्दा, टिमाई, देउनियाँ, फूलवासा, अन्धुवा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीहरूलाई दुलही झैँ सिँगारिने क्रम सुरु भएको छ ।

मैथिल समाज झापाका अध्यक्ष रमेशचन्द्र झाका अनुसार अनुसार भद्रपुरको मेची निन्दा नदीमा करिब एक हजार घाट निर्माण हुँदै छन् । सबै घाट हरेक वर्ष समाजले नै निर्माण गर्दै आएको उहाँको भनाइ छ । आर्थिक अवस्था कमजोर, न्यून आय भएकालाई समाजले निःशुल्क घाट उपलब्ध गराउने गरेको अध्यक्ष झाको भनाइ छ ।

मेची नदीमा करिब दुई लाख मानिसले अवलोकन गर्ने समाजको अनुमान छ । समितिले पूजा तथा दर्शन गर्न आउनेहरूका लागि स्थानीय प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाएको छ । छठ पर्वलाई व्यवस्थित गर्न समाजले स्थानीय सरकार भद्रपुर नगरपालिकासँग आवश्यक समन्वय गरेको झाले बताउनुभयो ।

झापाकै सबैभन्दा ठूलो छठ पूजा भद्रपुरस्थित मेची नदीमा हुने गरेको छ । नेपाल र भारतलाई छुट्ट्याउने मेची नदीमा करिब हजार वटा पूजाका घाट बनाइँदै छ । मेची नदीको पूर्वतर्फ भारतीय र पश्चिमतर्फ नेपालका व्रतालुहरूले पूजा गर्ने गरेका छन् ।

यसैगरी, छठ समाज सेवा समिति विर्तामोड, छठ पूजा समिति मेचीनगरले पनि स्थानीय विरिङ तथा निन्दा नदी घाटमा छठ पूजाको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button