तपाईँ सुन्दै हुनुहुन्छः

प्रविधिमैत्री बन्दै किसान, प्रविधिको प्रयोगले समाज रूपान्तरणमा सहयोग

बाजुरा । बडिमालिका नगरपालिका वडा नं ७ जिल्लीका विष्णु पण्डितलाई यतिबेला गाउँलेको खेत जोत्न भ्याई नभ्याई छ ।

“दुई सयभन्दा बढी परिवार भएको जिल्ली गाउँका अधिकांश किसानले हाते ट्याक्टरको प्रयोग गर्छन् । गोरु जोत्दा हप्ता दिन लाग्ने खेतमा ट्याक्टरको सहायताले सात घण्टामा जोतिसक्छ ।” ट्याक्टर चालक पण्डितले भन्नुभयो, “खेत खन्ने बाउसे पनि नचाहिने, हली, बाउसे र गोरु सबैको काम एक जनाले गर्न सक्छ । खेत जोत्नकै लागि वर्षभरी हल गोरु पाल्नुभन्दा गाउँमा एक ट्याक्टर भए पुग्छ । एक घण्टाको ६ सय रुपैयाँ लिन्छौँ दिनभर गोरु जोतेर सकिने काम एक घण्टामा सकिन्छ । समयको पनि बचत किफायती पनि छ । गोरु जोत्दा हल गोरु र दुई जना हली बाउसे चाहिन्छन् ट्याक्टरमा एक जना चालक भए पुग्छ ।”

त्यस्तै माउलेखका बुद्धे धामीले पनि पछिल्लो समयमा माउलेख वारी पारीका खेत जोत्न हाते ट्याक्टरको प्रयोग गर्नुहुन्छ । उहाँको ट्याक्टर जोताउन गाउँलेले पालो कुर्नुपर्छ ।

बडिमालिका–८ गड्खेतका अम्म अयडीले कम्तीमा सात दिनमा जोतिसकिने खेतलाई हाते ट्याक्टर प्रयोग गर्दा यो वर्ष सात घण्टामा सकाउनुभयो । वर्षभरी हल गोरु पाली, हली बाउसे, हलो कोदालो खोज्नुभन्दा ट्याक्टर लगायो घण्टाको पाँच छ सय दियो टण्टै साप अयडीले भन्नुभयो । सात दिनमा गर्ने काम एक दिनमा सकाएपछि अम्म अयडी पुस्तौँदेखि पालेका हल गोरु बिक्री गर्ने तरखरमा रहेको बताउनुहुन्छ ।

बडिमालिका –९ चौराटाका टेकबहादुर विष्टले पनि विगत चार वर्षदेखि खेत जोत्ने र साउने काम ट्याक्टरबाटै गर्नुहुन्छ । पछिल्लो समयमा गाउँमा युवाहरू नहुने बृद्धवद्धा तथा महिलाको भरमा खेती गर्न अप्ठेरो भइरहेको बेला प्रविधि भित्रिएपछि निकै सहज भएको उहाँ बताउनुहुन्छ । गाउँमा दलित र गैर दलितको सङ्ख्या हाराहारीमा छ, । सयभन्दा बढी परिवारको खेतबारी ट्याक्टरको माध्यमबाट एकलैले सकाएको उहाँले बताउनुभयो । प्रविधिको प्रयोगले सामाजिक कुरीति अन्त्य हुने र सामाजिक सद्भाव बढेको बुझाई उहाँमा छ ।

केही वर्ष पहिले तराईका फाँटमा देखिने ट्याक्टर पछिल्लो समयमा बाजुराका दुर्गम गाउँसम्म पुगेका छन् । गाउँमा एक ट्याक्टर भए धेरैको खेत जोतिन्छन् । प्रति घण्टा ज्यालामा काम गर्दा यसले सामाजिक सद्भाव पनि ल्याएको छ ।

“कम आय भएका वर्ग अझ दलित वर्गका विपन्न परिवारले दिनभरी साहुको हलो जोत्नुपर्ने र साहुले दिएको खलोबाट जीविका चलाउनुपर्ने बाध्यता थियो । तर गाउँमा ट्याक्टर आएपछि सबैले सबैका खेत जोतिदिन्छन् । प्रविधिले हलिया खलिया प्रथाको अन्त्य गरिदिएको छ । हातमा सिप र प्रविधि भए जो जे जसको काम गरेपनि हुन्छ ।”, ट्याक्टर चालक विष्णु पण्डितले भन्नुभयो । “पहिले दलितले मात्र गैर दलितको काम गर्थे अहिले म सबैको खेत जोतिदिन्छु । यसले समाजमा हुने जातीय भेदभाव व्यवहारतः अन्त्य हुदैछ”, उहाँले भन्नुभयो ।

बिदाको समयमा गाउँमा विष्णु दाइसँग ट्याक्टर जोत्न सघाउँछु केही आम्दानी पनि हुन्छ । काममा सानो ठूलो कुही नहुने प्रविधिले समाज रूपान्तरण गर्न सघाएको टङ्कराज पण्डितले बताउनुभयो । “गाउँगाउँमा रोड पुगे पाँच सात वर्षभित्र बाजुराका गाउँ गोरुमुक्त हुन्छन् उहाँले भन्नुभयो, प्रविधिसँगै गाउँमा सडक सञ्जाल पुग्नै पर्छ ।”

“जिल्लाका ६९ वडा मध्ये अधिकांश वडामा कच्ची सडक पुगेँ हाते ट्याक्टर पनि भित्रिएका छन् । गाउँमा गोरु पाल्नै धेरै कम भइसक्यो”, हिमाली गाउँपालिका वडा नं.४ फैतीका वृखराज पाण्डेले भन्नुभयो ।

क्षेत्रीय कृषि निर्देशनालय दिपायलको ५० प्रतिशत अनुदानमा कृषि ज्ञानकेन्द्र बाजुराले विगत वर्षदेखि किसानलाई हाते ट्याक्टर बिक्री वितरण गर्दै आएको छ । यस कार्यक्रम स्वयं ज्ञान केन्द्रको नभएकोले कार्यालयमा यकिन तथ्याङ्क भने छैन । “हालसम्म बाजुराका कति किसानलाई कति ट्याक्टर बिक्री गरियो भन्ने तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छैन। तथ्याङ्क केलाउनुपर्छ”, कृषि ज्ञानकेन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख भूमिराज उपाध्यायले भन्नुभयो ।

किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर उपलब्ध गराउँछन् । १ ट्याक्टर खरिद गर्दा करिब ८० हजार रुपैयाँ पर्छ । त्यसको ५० प्रतिशत अर्थात् ४० हजार रुपैंया स्वयम् किसान आफैले बेहोर्नुपर्छ ।

प्रविधिका लागि नगद अनुदान किसानले पाउन सके उक्त ट्याक्टर ६० ६५ हजारमा ल्याउन सकिने किसान अगुवाको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button