तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको साम्दोमा देउसी भैलो, विदेशी समेत रमाए

गोरखा । गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा रहेको साम्दो गाउँमा बालबालिकाहरूले देउसी भैलो खेलेका छन् । बालबालिकाहरूले खेलेको देउसी भैलो लार्केपास गर्न गएका विदेशी पाहुनाहरूले समेत रोचकका साथ हेरेका छन् ।

स्थानीय जाम्वाला होटलको आँगनमा भएको खेलमा बालबालिकाहरूले भैलो गाउनुका साथै राष्ट्रवादी गीतमा नृत्य गरेका थिए । बौद्ध धर्माबलम्बीहरुको सघन बस्ती रहेको यस क्षेत्रमा हिन्दु धर्म अनुसारका चाडपर्व कमै मात्र मनाउने गरिन्छ ।

पछिल्लो समय प्रविधिमा भएको विकाससँगै बालबालिकाहरूले समय अनुसारको अनुसरण गर्ने र पछिल्लो दुई वर्षयता भैलो खेल्ने गरेको पूर्व वडा सदस्य समेत रहनुभएका स्थानीय निमा लामाले बताउनुभयो ।

रातको समयमा चिसोका कारण बाहिर निस्कने अवस्था रहँदैन, दिउँसो घाम लागेका समय बालबालिकाहरूले गाउँमा देउसी भैलो खेलेका थिए । प्रत्येक घरबाट उनीहरुलाई दक्षिणा समेत प्रदान गरिएको अर्का स्थानीय घ्युर्मे लामाले जानकारी दिनुभयो ।

गोरखाका तल्ला क्षेत्रमा नियमित रुपमा आमा समूह, युवा क्लब, विभिन्न सामाजिक संघ संस्थाहरूले सामाजिक हितका लागि भैलो खेल्ने गरेका छन् । पछिल्लो समय सीमा जोडिएका हिमाली क्षेत्रमा समेत संस्कृतिको विस्तार हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button