बाँकेका मधेशी समुदायमा भुर्की पूजा: दाजु भाइको सुख, शान्ति र उन्नतिको कामना
बाँके । बाँकेका मधेशी समुदायमा आज आइतबार तिहारको मुख्य दिन यम द्वितीया अर्थात् ‘भैया दुई’ विशेष रुपमा मनाइएको छ। यस अवसरमा समुदायका दिदीबहिनीहरुले आ–आफ्ना दाजु भाइलाई टिका लगाई चिउरा, भुर्की र मिठाई खुवाएका छन्। परम्परा अनुसार घरको आँगन गाईको गोबरले लिपपोत गरी भाईको चित्र कोरिन्छ र नदी, तलाउ, पर्वत, बाघ, भालु, सर्प तथा वनजंगलको चित्र बनाएर तिनको उपस्थितिलाई दर्साइन्छ। त्यसमा कुश, विभिन्न काँडा राखेर सिलौटामा चामलको पिठोले नदी बनाएर धर्म भाईको प्रतिमा बनाई पूजा/अर्चना गरिन्छ।
भुर्की पूजाको क्रममा गाउँका सम्पूर्ण महिलाहरू सामूहिक रुपमा एकजुट भई दाजु भाइको दीर्घायु, सुख, समृद्धि र शान्तिको कामना गर्दै कथा र लोककथाहरू सुनाउने प्रचलन रहेको कशौधन महिला समाजका अगुवा ररमारानी वैश्यले बताउनुभयो। साथै, अवधि साहित्यकार सच्चिदानन्द चौबेले दिदीबहिनीहरुले बिहानैदेखि व्रत बसी दाजुभाइको प्रगति र सुस्वास्थ्यको कामना गर्ने चलन रहेको जानकारी दिनुभयो।
पूजा गरिएको चिउरा र भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने परम्परा रहेको छ। यस दिन विशेष साइतमा भुर्की पूजा गरिने अवधि साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो। नेपालगन्ज–६ का रागिनी साहुले दाजु भाइको दीर्घायु, सुख, शान्ति र उन्नतिको कामनासहित भुर्की पूजा सम्पन्न गरेको बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्