फेरिँदै देउसी भैलोको स्वरूप
म्याग्दी ।

“आहै चिप्लोमा बाटो, देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।”
हिन्दु धर्मावलम्बीको दसैँपछिको दोस्रो ठुलो पर्व तिहारमा खेलिने देउसी भैलोमा भट्याइने यस्ता शब्दहरू हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फु र बाँसुरीका साथै हार्मोनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसी भैलोमा भट्ट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।
तिहारको आकर्षणमध्येको एक मानिएको देउसी भैलो हिजोआज आशीर्वाद दिने, मनोरञ्जन लिने र साथीभाइहरूसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको बेनी नगरपालिका–२ का ९० वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसी भैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उहाँले परम्परा हराउनेमा चिन्ता व्यक्त गर्नुभयो ।
हिजोआज गाइने देउसी भैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसी भैलो खेल्ने र नाच्ने गरेका मङ्गला गाउँपालिका–२ का पण्डित हरिकृष्ण पौडेलले बताउनुभयो । यसरी ठूलोठूलो स्वरमा गीत बजाउँदा ध्वनि प्रदूषण बढ्नुका साथै बिरामी, वृद्ध वृद्धालाई असहज हुने उहाँले उल्लेख गर्नुभयो ।
बेनीका नैनकुमार श्रेष्ठले भन्नुभयो, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरू देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरू सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरू उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
बेनीका ज्येष्ठ नागरिक डम्मरबहादुर कार्कीले पहिला देउसी भैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैँजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरू बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताउनुभयो । बेनीका लोकसंस्कृतिका जानकार प्रकाश श्रेष्ठले युवा पलायनको असर देउसी भैलोमा पनि परेको उल्लेख गर्नुभयो ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसी भैलोको आफ्नै महत्त्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटिका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको लोकसंस्कृतिका जानकार श्रेष्ठले बताउनुभयो ।
भाइटिकाको दिन यमराज र यमुनाको नाममा समर्पित भएर पूजा गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समय अगावै नडाकुन् भनी कामना गर्ने गर्दछन् ।








प्रतिक्रिया राख्नुहोस्