तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा उदयपुरगढी पदयात्रा

उदयपुर । ऐतिहासिक क्षेत्रको संरक्षण र प्रवर्द्धनमा सघाउने उद्देश्यले नेपाली सेनाले उदयपुरगढी पदयात्रा गरेको छ ।

नेपाली सेनाको पशुपतिप्रसाद गणको आयोजनामा उदयपुरगढी गाउँपालिकाको नेपालटार बजारदेखि उदयपुरगढी दरबारसम्मको पदयात्रा गरेको हो ।

नेपाली सेना १८ नम्बर बाहिनीपति सहायक गौरव गुरुङ, प्रमुख जिल्ला अधिकारी हरीप्रसाद घिमिरे, प्रहरी उपरीक्षक हरीहरनाथ योगी, सशस्त्र प्रहरी उपरीक्षक सरोज बस्नेत लगाएतको ६० जनाको टोलीले ऐतिहासिक उदयपुरगढी परिसरसम्म ८ किलोमिटरभन्दा बढी पैदलयात्रा गरेको थियो ।

उदयपुरगढीको इतिहास र सो क्षेत्रमा जाने पदमार्गको संरक्षण गरि आगामी पुस्तालाई समेत ऐतिहासिक क्षेत्रको महत्वको सन्दर्भमा जनचेतना दिन पदयात्रा गरिएको नेपाली सेनाका पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी शिव प्रसाद वाग्लेले बताउनुभयो ।

समुद्री सतहदेखि ११ सय ६० मिटरको उचाइमा पर्ने उदयपुरगढीमा विस १३८२ मा उदयचन्द्र नाम गरेका सेनवंसी राजाले शासन गरेको कुरा इतिहासमा पाइन्छ । उनै उदयचन्द्र सेनको नामबाट उदयपुर जिल्ला रहन गएको किंवदन्ती रहेको छ ।

नेपाली सेनाले विभिन्न समयमा पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको नीति तथा कार्यक्रममा समावेश भएबमोजिम ऐतिहासिक एकीकरण पदमार्ग तथा किनलक पदमार्गमा पदयात्रा गर्ने कार्यक्रम सेनाले राख्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button