तपाईँ सुन्दै हुनुहुन्छः

सैन्य आधार तालिमबाट ९७ जना दीक्षित

सुर्खेत । सुर्खेतस्थित उत्तरपश्चिम पृतना मुख्यालयमा सञ्चालन भएको सि.स.३ सैन्य आधार तालिमबाट ९७ जना दीक्षित भएका छन् । आज काली बहादुर गण कपासे ब्यारेक वीरेन्द्रनगरमा भएको अन्तिम दलेल कवाज प्रदर्शन (दीक्षान्त समारोह) का साथ तालिममा सहभागी सैनिकलाई सिपाही दर्जामा नियुक्त गरिएको हो । 

नवनियुक्त सैनिकलाई देशका विभिन्न नेपाली सेनाका युनिटहरूमा पदस्थापन गरिएको उत्तर पश्चिम पृतना मुख्यालय सुर्खेतले जनाएको छ । पृतना हेडक्वाटरका पृतनापति उपरथी अनुपजंग थापाले तालिम सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण गर्नुभएको थियो । उहाँले तालिम पश्चात् राष्ट्र, जनता र संस्थाप्रति समर्पित भएर लाग्न निर्देशन दिँदै नेपाली सेनाको मूल्य मान्यता र परम्परालाई पालन गर्दै जस्तोसुकै परिस्थितिमा पनि राष्ट्र, नेपाली जनता र नेपाली सेनाप्रतिको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो । 

नेपाली सेनाको छवि उच्च राख्न सैनिक मर्यादामा रही काम गर्न निर्देशन दिँदै सिपाही बलियो भए मात्रै सेना बलियो हुने र सेना बलियो भयो भने मात्रै देश बलियो हुने उहाँको भनाइ थियो । भविष्यमा आइपर्ने कुनै पनि चुनौतीलाई जित्न शारीरिक, मानसिक र नैतिक साहस तालिमको दौरान प्रदान गरिएको उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सी.स.३ सैन्य आधार तालिममा सर्वोत्कृष्ट हुन सफल कैलालीकी मोनिका चौधरीले सैद्धान्तिक तथा व्यवहारिकतर्फ उत्कृष्ट अङ्क हासिल गरी ९७ जना सैन्यहरूमा प्रथम हुन सफल हुनुभएको थियो । उहाँलाई पृतनापति उपरथी थापाले पुरस्कृत गर्नुभएको हो । 

सैन्य आधार तालिम २०८० पुस १७ गतेदेखि २०८१ कार्तिक १४ गते सञ्चालन भएको मुख्य प्रशिक्षक मेजर रेनु शाहले जानकारी दिनु भयो । उहाँका अनुसार तालिमबाट दीक्षित सबै महिला मात्र हुन् । दीक्षान्त समारोहमा नेपाली सेनाका पदाधिकारी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, पत्रकार एवं दीक्षित भएका सिपाहीहरूका परिवार तथा आफन्तहरूको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button