सत्यवतीमा काष्ठ मूर्तिकला तथा चित्रकला प्रदर्शन
गुल्मी । गुल्मी जिल्लाको पर्यटकीय स्थल सत्यवती क्षेत्रमा काष्ठकला, मूर्तिकला तथा चित्रकला कार्यशालाले सत्यवतीको पहिचान झल्काएको छ । सत्यवती गाउँपालिकाको आयोजनामा उक्त कार्यशाला सञ्चालन गरिएको हो ।
जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र सत्यवतीको प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकको सत्यवती क्षेत्रमा पालिकाको आयोजनामा काष्ठ मूर्तिकला तथा चित्रकला कार्यशाला आयोजना गरिएको सत्यवती गाउँपालिकाले बताएको छ । मूर्तिकार तथा चित्रकारले सत्यवती क्षेत्रको पहिचानसँग जोडिएका विभिन्न प्रकारका दुई दर्जन भन्दा बढी मूर्ति तथा चित्रहरू बनाएका छन् ।
जङ्गलमा सडेर जाने गुराँसका काठहरूमा साँस्कृतिक, प्राकृतिक र धार्मिक आस्थासहित सत्यवती क्षेत्रको भावना समेटिएका आकर्षक मूर्तिहरू कोरिएका छन् । सत्यवती गाउँपालिकाको पहिचानसँग जोडिएको सत्यवती क्षेत्रको ग्रामीण पर्यटन प्रवर्द्धनको लागि कार्यशालाले थप टेवा पुर्याएको अध्यक्ष टिकाराम पाण्डेले बताउनुभयो ।
सत्यवती गाउँपालिकाकै मूर्ति तथा चित्रकारहरूको अगुवाइमा निःशुल्क कार्यशाला सञ्चालन गरिएको थियो । सत्यवती गाउँपालिकाका प्राज्ञ एवं वरिष्ठ मूर्तिकार भुवन थापा मगर ‘बहुवी’, याम बहादुर थापा र नरेन्द्र भण्डारीले आफु र विभिन्न ठाउँका कलाकार मार्फत सत्यवती क्षेत्रको पर्यटकीय विकासको लागि निःशुल्क रुपमा मूर्ति तथा चित्रहरू निर्माण गरेको बताउनुभयो । उहाँले यहाँका सांस्कृतिक विषयवस्तु समेटेर मूर्ति तथा चित्रहरू निर्माण गरेको मूर्तिकार भुवन थापाले बताउनुभयो ।
मूर्तिकार तथा चित्रकारहरूले सत्यवती क्षेत्रका मठ मन्दिर तथा पूर्व प्रधान पञ्चदेखि गाविस अध्यक्षसम्मको तस्बिर बनाएका छन् । नेपालका विभिन्न ठाउँहरूमा यस्ता खालका कार्यक्रम भए पनि गुल्मी जिल्लामा पहिलो पटक गरिएको मूर्तिकार थापाको भनाई छ ।
नेपाल सरकारको एक सय नयाँ पर्यटकीय गन्तव्य मध्ये सत्यवती क्षेत्र पनि एउटा गन्तव्य स्थलमा पर्दछ । गाउँपालिकाले १० दिनसम्म मूर्ति तथा चित्र निर्माण गरेका कलाकारहरू तथा स्वयं सेवकहरूलाई सम्मान समेत गरेको छ । सत्यवती क्षेत्रमा दश दिनसम्म सञ्चालन गरिएको कार्यशालामा स्वदेश तथा विदेशमा ख्याति कमाएका २३ जना मूर्तिकार तथा चित्रकारहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्