थाइल्याण्डको सयपत्री फूल फुलाएरै ५ लाख बढी आम्दानी गर्दै कोहलपुरका थापा

बाँके ।तिहार नजिकिएसँगै बाँके जिल्लामा सयपत्री फूलको मागमा उल्लेखनीय वृद्धि भएको छ। विशेषगरी तिहारका लागि आवश्यक फूलको आपूर्ति सुनिश्चित गर्न स्थानीय युवाहरूले फूल उत्पादनमा ध्यान दिन थालेका छन्।
बाँकेमा मात्र होइन, विभिन्न जिल्लाहरूमा समेत सयपत्रीको माग बढ्दै गएको छ, जसले गर्दा यसलाई व्यावसायिक रूपमा उत्पादन गर्ने युवाहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ।
कोहलपुर नगरपालिकामा थाइल्याण्डमा पाइने सयपत्री फूल कोहलपुरमा पाइने भएको छ । कोहलपुर नगरपालिका १३ का पुष्प व्यवसायी कर्ण बहादुर थापाले थाइल्यान्डबाट विउविजन ल्याई उमारेका सयपत्रीका फूलहरू कोहलपुरमा पाइने भएको हो ।

लामो समय विदेश बसेर स्वदेश फर्केपछि साथीहरूसँग मिलेर फूल खेतीमा सक्रिय हुनुहुन्छ । उहाँले चार पाँच वर्षदेखि “थापा कृषि तथा नर्सरी फर्म” दर्ता गरी करिब १५ कठ्ठा जमिनमा सयपत्री फूलको खेती गर्नुभएको छ। थापाका अनुसार कम लगानीमा धेरै प्रतिफल पाइने हुँदा यो व्यवसाय युवाहरूका लागि आकर्षक बन्न पुगेको छ। उहाँले विदेशी भूमिमा गरेको सङ्घर्षले स्वदेशमै केही गर्नुपर्छ भन्ने प्रेरणा दिएको र त्यसैको नतिजा स्वरूप अहिले फूल खेतीमा सक्रिय भएको बताउनुभयो।
गत वर्ष बेमौसमी वर्षाका कारण अपेक्षित उत्पादनमा कमी आए पनि यस वर्ष ५ क्विन्टल फूल उत्पादनको लक्ष्य राखिएको छ। उहाँले स्थानीय बजारमा फूलको माग उच्च भएका कारण आफ्नो उत्पादनलाई सहजै बिक्री गर्न सकिने बताउनुभयो। फूल खेतीमा नाफा बढ्दै गएपछि स्थानीय युवाहरूले स्वरोजगारको अवसर पाएका छन्। थापा अहिले वार्षिक पाँच लाख रुपैयाँसम्मको आम्दानी गर्ने लक्ष्यसहित तीन जनालाई रोजगारी दिइरहनु भएको छ।

थाइल्यान्डबाट ल्याइएको विशेष जातको सयपत्री फूलको खेती गरेर थापाले स्थानीय तथा राष्ट्रिय बजारमा नयाँ किसिमको फूल उपलब्ध गराउनु भएको छ । हिजो लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद थारुले समेत थापाको फार्मको अनुगमन गर्दै प्रदेश सरकार पुष्प व्यवसाय प्रवर्द्धनका लागि नीतिगत सहयोगको योजना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
कोहलपुर नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र प्लास्टिकजन्य फूलहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ। नगरका विभिन्न ठाउँमा पुष्प व्यवसायीहरूको स्टल राखेर स्थानीय उत्पादनको बिक्रीमा सहयोग पुर्याउने योजना नगर प्रहरी प्रमुख वीर बहादुर थापाले बताउनु भयो। तिहारलाई लक्षित गर्दै थापाले सयपत्री फूल अन्य जिल्लामा समेत पठाउने तयारी गर्नुभएको छ। जसले स्थानीय उत्पादनमा नयाँ आयाम थपिएको छ।








प्रतिक्रिया राख्नुहोस्