सूचनाको हक कार्यान्वयनका लागि प्रदेश सरकार गम्भीर : मुख्यमन्त्री सिंह
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सूचनाको हक कार्यान्वयन गर्नका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री सिंहले सूचनाको हकका लागि राष्ट्रिय महासङ्घद्वारा जनकपुरधाममा आज आयोजित प्रदेश स्तरीय सूचनाको हकसम्बन्धी प्रशिक्षण शिविरको उद्घाटन गर्दै लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
मुख्यमन्त्री सिंहले सार्वजनिक महत्व तथा चासोका विषयमा नागरिकलाई सहज ढङ्गले सूचना उपलब्ध गराउन सरकारको कानूनी र नैतिक कर्तव्य भएको बताउनुभयो ।
उहाँले मधेश प्रदेशमा १ सय ३६ वटै पालिकालाई सूचना अधिकारी नियुक्त गर्न प्रदेश सरकारले तत्काल पत्राचार गर्ने बताउँदै प्रदेशमा कर्मचारी अभाव र कार्य बोझका कारण सूचना अधिकारीले पनि समयमा आवश्यक सूचना उपलब्ध गराउन कठिन हुने गरेको बताउनुभयो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले मधेश प्रदेश सरकारमाथि सुरुदेखि नै हुँदै आएका टीकाटिप्पणी र आरोपका कारण सूचनाको हक कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले गम्भीरता साथ काम गरिरहेको बताउनुभयो ।
उहाँले सूचनाको हक कार्यान्वयनमा सबै पक्षको सक्रियता आवश्यक भएको बताउँदै सूचनाको हकसम्बन्धी चेतना पालिका तहसम्म नै प्रसार हुनुपर्ने धारणा राख्नुभयो ।
सञ्चारमन्त्री लेखीले सञ्चार क्षेत्रको विकासका लागि गर्नुपर्ने कामकाजका बारेमा सुझाव सङ्कलन गर्न मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको र समितिले काम गरिरहेको पनि जानकारी दिनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमा गुरुङले सूचनाको हक प्रयोग गरी प्राप्त भएका सूचनाका आधारमा ठूलाठूला अनियमितता र भ्रष्टाचारबारे महत्त्वपूर्ण तथ्य सार्वजनिक भएर मुलुकमा विधिको शासन स्थापित गर्न सहयोग पुगेको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष उमिद वागचन्दको सभापतित्वमा भएको कार्यक्रममा रोशन झा लगायतका वक्ताहरूले सूचनाको हकका महत्वको विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्