तपाईँ सुन्दै हुनुहुन्छः

‘सुपर ओभर’मा नेपालद्वारा घरेलु टोली अमेरिका पराजित

काठमाडौँ । दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले तीन खेलको शृङ्खला एक खेल अगावै जितेको छ । निर्धारित २० ओभरको खेलमा दुवै टोलीले १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले तीन रनको लक्ष्य दियो । सोमपाल कामी चम्किएपछि नेपालले सहज लक्ष्य पायो । उनले तेस्रो बलमै सायन जहान्गिरको विकेट लिँदै अमेरिकालाई दबाबमा राखेका थिए । चौथो बलमा उनले आरोन जोनेसको विकेट लिएपछि नेपालले जम्मा ३ रनको लक्ष्य पायो ।

प्रत्युत्तरमा नेपालको लागि क्रिजमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल आएका थिए । पहिलो बलमै रोहितले एक रन जोडे । दोस्रो बलमा भुर्तेलले एक रन जोडेसँगै सुपर ओभर बराबरीमा पुगेको थियो । तेस्रो बलमा रोहितले डट खेले । चौथो बलमा रोहितले एक रन जोड्दै नेपाललाई शृङ्खला जिताएका हुन् ।

आइतबार बिहान अमेरिकाको डालासमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले पूरा २० ओभर खेल्दा आठ विकेट गुमाएर १७० रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । नेपालका करण केसीले सर्वाधिक तीन विकेट हात पारे । सोमपाल कामीको नाममा दुई तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए ।

दोस्रो खेलमा नेपालका टस जितेर ब्याटिङ गरेको नेपालको लागि तेस्रो नम्बर क्रिजमा आएका कुशल भुर्तेलले ५४ बलमा ७ चौका र ६ छक्कासहित सर्वाधिक ९२ रन बनाएका हुन् । ओपनर अनिल कुमार शाहले २५ तथा गुल्शन झाले १७ र कप्तान रोहितकुमार पौडेलले १८ रनको योगदान गर । यसअघि पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको थियो । अब, तेस्रो खेल सोमबार बिहान हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button