तपाईँ सुन्दै हुनुहुन्छः

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एकको मृत्यु

चितवन । जिल्लाको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना  घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३ प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा चालक र पछाडि बस्ने गरी छ जना घाइते भएको तथा घाइतेमध्ये गम्भीर अवस्थामा रहेका स्कुटर चालक स्याङ्जाका आदिखोला गाउँपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको भरतपुर अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजेको समयमा मृत्यु भएको हो । 

स्कुटरको पछाडि सवार स्याङ्जाको फेदीखोला गाउँपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको छ ।

त्यसैगरी ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको  रिजालले जानकारी दिनुभयो ।

ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडि बस्ने गैँडाकोट नगरपालिका–८ नवलपरासी (बर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था सामान्य घाइते रहेको र उनीहरूको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button