तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षणको पर्खाइमा रहेको बालमन्दिरको स्वरूप फेर्न जुट्दै रामग्राम

नवलपरासी,पश्चिम् । संरक्षणको अभावमा रहेको पश्चिम् नवलपरासीस्थित परासी सदरमुकामको इतिहास बोकेको बालमन्दिरको संरक्षण र सौन्दर्यीकरणका लागि रामग्राम नगरपालिकाले चासो देखाएको छ । नगरप्रमुख धनपत यादवको सक्रियतामा यसको संरक्षण,प्रवर्द्धन र बहुउपयोगिताका लागि योजना नै बनाएर नगरपालिका जुटेको हो ।

नेपाल बाल संगठन अन्तर्गत रहेको बालमन्दिरको भवन जीर्ण बन्दै गएपछि नगरपालिकाले संरक्षणको प्रयास थालेको हो । रामग्राम ५ स्थित घण्टाघर चोकबाट दायाँतर्फ रहेको बालमन्दिर परिसर अहिले घाँसे मैदानमा परिणत हुँदै गएको छ भने संरचनाहरूसमेत जीर्ण बन्दै गइरहेका छन् । उक्त स्थानमा सरसफाई गरी स्थानीयलाई हिँडडुल गर्न बाटो बनाउने, खुल्ला व्यायामशाला र बाल उद्यान बनाई सौन्र्दयकरण गर्ने योजना बनाएको नगर प्रमुख धनपत यादवले बताउनुभयो ।

नगरभित्र रहेको उक्त सम्पत्तिको अवस्था निकै दयनीय रहेको भन्दै यस्तै अवस्था रहे उक्त जग्गा अतिक्रमण हुने जोखिमसमेत बढेकाले नगरपालिकाले बालमन्दिरको स्वरूपमा असर नपर्ने गरी संरक्षण र सौन्दर्यीकरणको काम गर्न सुरु गरेको नगरप्रमुख यादवले जानकारी दिनुभयो ।

‘नगरको मुख्य केन्द्रमा रहेको सम्पत्ति प्रयोग विहीन हुँदै गएको छ, त्यसलाई हामी संरक्षण गर्न काम गर्दैछौं,बालमन्दिरले परासीको इतिहास बोकेको छ हरेक पुस्ताले इतिहासको संरक्षण गर्दै जाने हो,हामीले यसको स्वरूप फेर्ने गरि अघि बढेका छौ,राज्यले यस्ता ठाउँहरूको पहिचान गरि स्थानीय तहसँग हातेमालो गरी अघि बढ्न जरुरी छु’, नगरप्रमुख यादवले भन्नुभयो ।

जग्गा संरक्षणका लागि काठमाडौंमा रहेको नेपाल बालसंगठनमा पनि दुई पटक पुगेर छलफल भएको र नेपाल बाल संगठनका केन्द्रिय अध्यक्ष विद्या न्यौपाने र कोषाध्यक्ष देउमान विष्टसँगसमेत छलफल गरिएको नगर प्रमुख यादवले जानकारी दिनुभयो । उहाँले बालसंगठनसँग भएको छलफल सकारात्मक रहेको जानकारी दिनुभयो ।

नगरभित्र बालउद्यानकोसमेत आवश्यकता रहेको बताउँदै उहाँले बालसंगठन क्षेत्रलाई परासीमा एउटा खुल्ला केन्द्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।

नेपाल बाल संगठन नवलपरासीका सभापति पृतम पौडेलले नगरपालिकाले राम्रो सुरुवात गर्न थालेको बताउँदै यसमा बाल संगठनले साथ दिने बताउनुभयो । बेवारिसे बन्दै गएको सम्पत्तिको संरक्षणमा नगरपालिकाले चासो दिनु राम्रो कुरा भएको बताउँदै उहाँले समन्वय गरेर योजनबद्ध काम गर्नुपर्ने बताउनुभयो । साथै निर्माण पछिको दीर्घकालीन व्यवस्थापनमा पनि नगरपालिकाले ध्यान दिनुपर्नेमा पौडेलेको जोड छ ।

बालसंगठनको नाममा परासीमा दुई विगाह जग्गा रहेको छ । उक्त जग्गामा विद्यालय सञ्चालनका ला िगबनाइएका दुई वटा टिनले छाएका भवनसमेत छन् । उक्त भवन भाडामा प्रयोगमा दिइएको बाल संगठनले जनाएको छ ।नगरभित्रका अन्य सार्वजनिक सम्पत्तिको संरक्षणमा समेत नगर अघि बढ्ने नगरप्रमुख यादवले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button