तपाईँ सुन्दै हुनुहुन्छः

व्यवसायीक रूपमा तरकारी खेतीबाट मनग्य आम्दानी

डोटी । डोटीका एक युवाले करिब १२ रोपनी जमिनमा व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-१ चाँसीका  २३ वर्षीय मुकुन्द अवस्थीले व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।

किसान मुकुन्दकाअनुसार हाल दैनिक रूपमा ८ देखि १० हजार कमाइ हुने गरेको बताउनुभयो । आजभोलि दैनिक प्रतिकेजी ५० रुपैयाँका दरले ८ देखी १० क्यारेट टमाटर फर्मबाट बजारमा जाने गरेको बताउनुभयो ।

मुकुन्दले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर वर्तमान समयमा २५ ओटा प्लास्टिक घर (टनेल) बनाएर तरकारी खेती गरेका छन् । सुरुवातमा गाउँपालिकाबाट प्राप्त भएको एक लाख ५० हजार रुपैयाँ अनुदान र बाँकी आफ्नो लगानीमा दश टनेलबाट तरकारी उत्पादन सुरु गरेको बताउनुभयो । हाल उनी कृषि थोपा सिँचाइको रूपमा गर्दै आएका छन् ।

जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायल बजारसम्म पुग्ने कच्ची सडक अवरुद्ध भइरहने भएकाले पिठ्युँमा बोकेर बजार पुर्‍याउनु पर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

पछिल्लो तीन वर्षयता डोटीमा तरकारी खेतीमा उत्पादन वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र डोटीले दिएको तथ्यांकअनुसार  आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय ५७ हेक्टर जमिनमा २६ हजार ७ सय ६६ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा २ हजार ३ सय ३३ हेक्टर जमिनमा ७२ हजार ९६ मेट्रिक टन तरकारी उत्पादन भएको प्राप्त सूचनामा उल्लेख छ ।

त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३ सय ५९ क्षेत्रफल जमिनमा २७ हजार ५ सय २३ मेट्रिक टन तरकारी उत्पादन भएको ज्ञान केन्द्रले सूचनामा उल्लेख छ ।

तीनवटै आर्थिक वर्षको तथ्याङ्कको तुलना गर्दा डोटी जिल्लामा तरकारी खेतको क्षेत्रफल पनि वृद्धि हुँदै गएको छ ।

जिल्लामा तरकारी खेतीको उत्पादन वृद्धि हुँदै गए पनि पानी र जङ्गली जनावरका कारण तरकारी खेती बिस्तारमा समस्या भएको किसानहरूले बताएका छन् ।

आगामी दिनहरूमा जिल्लामा तरकारी खेतीका किसानहरू र तरकारी खेती वृद्धि हुँदै जाने कृषि ज्ञान केन्द्र डोटीको अनुमान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button