तपाईँ सुन्दै हुनुहुन्छः

हिँसा शब्दले मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गरेको माओवादीको भनाई

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदमा माओवादीको सशस्त्र आन्दोलनलाई लिएर प्रयोग भएको हिंसा शब्द परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्नेगरी आएको बताएको छ ।

बैठक सुरु भए लगत्तै समय माग गरी माओवादी केन्द्रका नेता शक्ति बस्नेतले संसदमा माओवादीबाट मुलुकको परिवर्तनका लागि भएको आन्दोलनलाई अपमानित गर्ने गरी अपमानजनक ढङ्गबाट आएका बिचारहरूप्रति असहमति रहेको बताउनुभयो ।

सशस्त्र सङ्घर्षको मूल्य ओज र जनयुद्धलाई हिंसाका रुपमा चित्रित गर्ने कोशिस भएको भन्दै नेता बस्नेतले यस्ता शब्दको प्रयोग राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाका दृष्टिले अनुपयुक्त रहेको बताउनुभयो ।

उहाँले सदनमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ब्यक्त गरेको हिंसा शब्दको मर्म, भाव र सन्दर्भले जनताको बलिदानीपूर्ण सङ्घर्षको इतिहासलाई अपमानित र लाञ्छित गरेको र विस्तृत शान्ती सम्झौताको मर्म, अन्तर बस्तु तथा संविधान विपरीत रहेको बताउनुभयो ।

सत्तापक्ष दलका नेताबाट प्रयोग भएका शब्दप्रति आफ्नो असहमति रहेको भएपनि प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको बैठकमा सहभागी हुन जान लाग्नुभएको अवस्था, महत्वपूर्ण विधेयकहरू संसदबाट टुङ्गोमा पुर्‍याउनुपर्ने स्थिति र जनसरोकारका विषयहरूमा छलफल गर्नु पर्ने विषयलाई मध्यनजर गरी आफ्नो मत यथावत् राख्दै बैठक सुचारु गर्न सहयोग गर्ने निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button