नारायणी अस्पतालमा वैशाख यता ८ सय ५८ जना सर्पदंशका घाइतेको उपचार
वीरगञ्ज । नारायणी अस्पतालमा वैशाख यता ८ सय ५८ जना सर्पदंशका घाइतेहरूको उपचार भएको छ । विशेष गरी गर्मी तथा वर्षायाममा तराई मधेशमा जमिनको सतहमुनि लुकेर बसेका विषालु सर्प बाहिर निस्किदा सर्पदंशका घटनाहरू हुने गरेका छन् ।

नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाबाट सर्पदंशका घाइतेहरू गम्भीर अवस्थामा ल्याइने गरेको र उनीहरूको उपचार अस्पतालले गर्दै आएको छ ।
वैशाखदेखि भदौ २६ गते सम्मको अवधिमा नारायणी अस्पतालमा ८ सय ५८ जना सर्पदंशका घाइतेहरूको सफल उपचार भएको र उपचारार्थ ल्याइएकामध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका आकस्मिक सेवा कक्षका प्रमुख डा.उदय नारायण सिंहले बताउनुभयो ।
उहाँले नारायणी अस्पतालमा दैनिक रुपमा सरदरमा ८÷९ जना सर्पदंशका घाइतेहरू आउने गरेको र उनीहरूमध्ये ३ जनाको अवस्था गम्भीर हुने गरेको जानकारी दिँदै वैशाखदेखि हालसम्म सर्पदंशका २३ जना घाइतेलाई भेन्टिलेटरमा राखेर सफल उपचार गरिएको बताउनुभयो ।
नारायणी अस्पतालमा सर्पदंशको सम्पूर्ण उपचार सुविधा भए पनि अस्पतालमा ल्याउन ढिलाइ गर्दा घाइतेहरूको बिच बाटोमै तथा घरमा मृत्यु हुने गरेको चिकित्सक सिंहले बताउनुभयो ।
यसैबिच
बारामा विषालु सर्पको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । घरमा सुतिरहेका बेला विषालु सर्पले टोक्दा बाराको महागढीमाई नगरपालिका–१० निवासी शिवचन्द्र लोहारका ११ वर्षीय छोरा राकेश शर्माको मृत्यु भएको हो ।
सोमबार राति गोमन सर्पले टोकेर सिकिस्त भएका बालकलाई आफन्तले ढिलो गरी कलैया अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेमकुमार पण्डितले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्