तपाईँ सुन्दै हुनुहुन्छः

द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्छु: रुसका लागि प्रस्तावित राजदूत चौहान

काठमाडौँ । रुसी महासङ्घका लागि प्रस्तावित राजदूत जङ्गबहादुर चौहानले द्विपक्षीय सम्बन्ध बढाउने कुरा प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
उहाँले नेपालमा लगानी प्रवद्र्धन गर्ने, उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउने, दुई देशबीच कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने, रुसी सेनामा भर्ती भएका नेपालीको स्वदेश फिर्ता तथा यसमा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो ।
संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित राजदूत चौहानले रुससँग केवल औपचारिक सम्बन्ध मात्र बनाइराख्ने अवस्थाबाट माथि उठेर लगानी तथा पर्यटन प्रवद्र्धन, सांस्कृतिक सम्बन्ध विकासलगायत क्षेत्रमा काम गर्ने बताउनुभएको हो ।
रुसले नेपालको ऊर्जा, पर्यटन, कृषि, खेलकुदलगायत क्षेत्रमा लगानी गर्न चासो देखाइरहेको उल्लेख गर्दै प्रस्तावित राजदूत चौहानले त्यसलाई वास्तविकतामा बदल्नका लागि आफूले भूमिका खेल्न सक्ने दाबी गर्नुभयो । नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै दुईपक्षीय हितका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्नसक्ने उहाँको भनाइ छ ।
सडक, ऊर्जा, उद्योगलगायत पूर्वाधारका क्षेत्रमा रुसबाट लगानी भित्र्याउन सकिने सम्भावना रहेको पनि चौहानले उल्लेख गर्नुभयो । रुसका नागरिकहरूले साहसिक पर्यटन निकै रुचाउने र नेपालमा यस्तो पर्यटनको निकै सम्भावना रहेको हुँदा त्यसबाट पनि नेपालले लाभ लिनसक्ने चौहानको भनाइ छ ।
त्यस्तै शैक्षिक क्षेत्रमा विभिन्न छात्रवृत्तिका कार्यक्रममार्फत रुसले नेपाली विद्यार्थी लैजाने गरेकामा पछिल्लो समय त्यस्तो सङ्ख्या घटेको उल्लेख गर्दै उहाँले त्यसलाई बढाउन सक्नेबारे आफूले पहल गर्ने पनि बताउनुभयो । रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्ने र थप नेपाली त्यहाँ भर्ना हुनबाट रोक्नका लागि आफूले भूमिका खेल्न सक्ने पनि उहाँको दाबी छ । आफूलाई रसियन भाषाको राम्रो ज्ञान रहेका कारण रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गर्नका लागि अझ प्रभावकारी ढङ्गले काम गर्नसक्ने उहाँले बताउनुभयो ।
रुसस्थित नेपाली दूतावासबाट उपलब्ध पछिल्लो विवरणअनुसार रुसी सेनामा भर्ती भएकामध्ये एक सय ७५ जना स्वदेश फिर्ता भइसकेका, सातजना युक्रेनमा युद्ध बन्दीका रुपमा रहेका र ४३ जनाको मृत्यु भएको चौहानले बताउनुभयो । मृत्यु भएकामध्ये पाँच जनाको डिएनए परीक्षण भइसकेको, होल्डिङ सेन्टरमा राखिएका बाँकी शव चिन्न नसकिने अवस्थामा रहेका र डिएनए परीक्षण भइरहेको उहाँको भनाइ छ । बिचौलियामार्फत र व्यक्तिगत सम्बन्धका आधारमा अवैध तरिकाले गएकाले रुसी सेनामा कति सङ्ख्यामा नेपाली छन् भन्ने यकिन हुन नसकेको पनि चौहानले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button