तपाईँ सुन्दै हुनुहुन्छः

आज राष्ट्रिय सभाका नवनिर्वाचित १८ सदस्यको सपथग्रहण

काठमाडौँ । राष्ट्रिय सभामा नवनिर्वाचित भएका १८ जना सदस्यको सपथ ग्रहण आज हुनेभएको छ ।

वनिर्वाचित सदस्यहरुलाई आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने कार्यक्रम छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक जनाको चयन हुन भने बाँकी छ ।

मंगलबार अर्थमन्त्री युवराज खतिवडासँगै १९ जनाको राष्ट्रियसभाका सदस्यहरुको पदावधी सकिएको हो । दुई वर्ष पुगेकै दिन मन्त्री खतिवडाले पदबाट राजीनामा दिइसक्नुभएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट इन्दिरा देवी गौतम, गोपिबहादुर सार्की आछामी, देवेन्द्र दाहाल, तुलसा कुमारी दाहाल, राधे श्याम पासवान, गङ्गाकुमारी बेलबासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायण काजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, माया प्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँर तथा राष्ट्रिय जनता पार्टी नेपालका शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादवले राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

मंगलबारदेखि बिदा भएका राष्ट्रियसभा सदस्यहरुमा नेकपाबाट ८, नेपाली कांग्रेसका ६ , राजपाका २, समाजवादी पार्टी नेपालका १ र राष्ट्रपतिबाट मनोनित एक जना गरी १८ रहेका छन् । दुई बर्षे कार्यकाल भएका कांग्रेसकासांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।

आज हुने राष्ट्रिय सभा सदस्यहरुको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा लगायत उच्च पदस्थहरु सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button