१३ बिगाहा सार्वजनिक जग्गामा १४ सय फलफूलका बिरुवा रोपिँदै
वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ मा पर्ने भलुवाही खोला छेउको करिब १३ बिगाहा सार्वजनिक जग्गामा १४ सय भन्दा बढी फलफूलका बिरुवाहरू रोप्ने अभियान आजबाट सुरु भएको छ ।
समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तरगत पटेर्वा सुगौली गाउँपालिकाले वडा नम्बर ४ फरहदवास्थित भलुवाही खोला छेउको १३ बिघा सार्वजनिक जग्गामा फलफूलका बिरुवाहरू रोप्न थालेको हो ।
१३ बिघा सार्वनामिक जग्गामा शनिबारदेखि देखि आँप, कटहर, लिच्ची, कागती लगायतका बिरुवाहरू रोप्न सुरु गरिएको गाउँपालिका अध्यक्ष दिनेश चौधरीले बताउनुभयो । बिरुवाहरूको व्यवस्थापन गाउँपालिका कार्यालयले गरेको अध्यक्ष चौधरीले बताउनुभयो ।
यसअघि वडा नम्बर ४ मै पर्ने हरजोतामा पनि करिब साँढे ३ बिघा सार्वजनिक जग्गामा फलफूलकै ४ सय वटा बिरुवा रोपिसकिएको गाउँपालिका उपाध्यक्ष ममता महतोले जानकारी दिनुभयो ।
सार्वजनिक जग्गामा रोपिएका बिरुवाहरूको रेखदेख र संरक्षणको जिम्मा स्थानीय समुदायलाई दिइएको उपाध्यक्ष महतोले बताउनुभयो ।
सार्वजनिक जग्गामा रोपिएका फलफूलका बिरुवाहरू हुर्काउने, रेखदेख र संरक्षण गरेबापत उक्त जग्गामा स्थानीयले तरकारी लगायतका खेती गरेर आयआर्जन गर्न पाउने गरि स्थानीयलाई जिम्मा दिइएको उपाध्यक्ष महतोले बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्