तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट कृषि रेडियो कार्यक्रम निरन्तर प्रसारण हुने

धनकुटा । कृषि विकास निर्देशनालय विराटनगरको प्रायोजनमा रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय धनकुटाबाट प्रादेशिक कृषि रेडियो कार्यक्रम यस आर्थिक वर्षमा पनि निरन्तर प्रसारण हुने भएको छ । नेपाली भाषा सहित विभिन्न राष्ट्र भाषामा गरी ४४ वटा कार्यक्रम उत्पादन तथा प्रसारणको लागि भएको सम्झौता पत्रमा कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाश कुमार डाँगी र रेडियो नेपाल धनकुटाका वरिष्ठ सम्पादक तिल बिक्रम चेम्जोङले आज हस्ताक्षर गर्नु भएको हो । सो अवसरमा निर्देशनालयले गत आर्थिक वर्षमा ८७ प्रतिशत भन्दा बढी वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुहुँदै निर्देशनालयका प्रमुख डाँगीले विगतको अभ्यासलाई समीक्षा गर्दै कृषकको गुनासो र मागलाई सम्बोधन गर्न अनुदान प्रक्रिया सहित अन्य कार्यक्रममा फेरबदल गरिएको बताउनु भयो । साथै उहाँले किसानले उठाएका जल्दाबल्दा समस्याहरूको बारेमा, निर्देशनालय  र अन्तर्गतका कार्यालयहरूले के गरिरहेका छन्  र आगामी दिनमा के कस्ता कार्यक्रमहरू गर्नेछन् भन्ने कुराहरू रेडियो नेपालबाट कृषक समक्ष पुर्‍याउन पाउँदा खुशी लागेको बताउनु भयो । सोही अवसरमा रेडियो नेपालका वरिष्ठ सम्पादक तिल विक्रम चेम्जोङले कृषकको व्यवहारमा परिवर्तन ल्याई समृद्धि हासिल गर्ने खालका विषयवस्तु समावेश गरेर कार्यक्रमहरू उत्पादन गरी प्रसारण गरिने बताउनु भयो । 

विगत ४ वर्षदेखि नेपाली सहित राष्ट्रभाषा अन्तर्गत राई बान्तवा, पूर्वेली थारु र लिम्बूमा निरन्तर प्रसारण हुँदै आएको प्रादेशिक कृषि रेडियो कार्यक्रम यस आर्थिक वर्षमा पनि निरन्तरता दिने सम्झौता भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button