तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चार क्षेत्रमा राससले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज रासस केन्द्रीय कार्यालय भद्रकालीमा ‘ब्रिफिङ’ लिँदै उहाँले समाचारका क्षेत्रमा राससलाई ‘गुरु’ संस्थाका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

“सबै सञ्चार माध्यमको अभिभावक रासस बन्नुपर्छ, समाचारको स्रोत रासस हुनुपर्छ, यसको सेवालाई प्रभावकारी बनाएर लैजानुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राजनीतिक प्रभावबाट मुक्त पारेर राससलाई आस्थाको केन्द्र बनाउनुपर्छ ।” परम्परागत कार्यशैली परिवर्तन गरेर परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिँदै मन्त्री गुरुङले देश र जनताको पक्षमा सकारात्मक नतिजा दिने आफ्नो योजनामा दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो ।

सरकारका संयन्त्रलाई बलियो बनाएर लैजानुपर्ने धारणा व्यक्त गर्दै मन्त्री गुरुङले सरकारी संस्थामा संरचनात्मक सुधारको आवश्यकता औँल्याउनुभयो । राससको ऐनलाई समयानुकूल परिमार्जन गर्नुपर्छ भन्दै उहाँले सञ्चारसम्बन्धी कानुन परिमार्जन आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

सेवा प्रवाह र सुशासनका क्षेत्रमा तत्काल थप सुधार थाल्न निर्देशन दिँदै मन्त्री गुरुङले सुधारका प्रयासमा सधैँ आफ्नो साथ र सहयोग रहने विश्वास दिलाउनुभयो । राससको नेतृत्वले अवसरलाई परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उहाँले प्राप्त जिम्मेवारीलाई इमान्दारितापूर्वक सम्पादन गर्न निर्देशन दिनुभयो ।

‘मन्त्रिपरिषद् निर्णय परिपक्व हुन २४ घन्टा’
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले मन्त्रिपरिषद्का निर्णयलाई परिपक्व बनाउन २४ घण्टापछि मात्रै निर्णय सार्वजनिक गर्ने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । “कहिलेकाहीँ मन्त्रिपरिषद्का निर्णय सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले फिर्ता वा संशोधन गर्नुपर्ने अवस्था हुनसक्छ”, उहाँले भन्नुभयो, “त्यसकारण २४ घन्टा अगावै निर्णय सार्वजनिक गर्नु उचित हुँदैन ।”

सरकारले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि प्रवक्ताले मात्रै सार्वजनिक गर्ने निर्णय गरे पनि मन्त्रिपरिषद्का सदस्यले नै आफूखुसी सञ्चार माध्यमलाई सूचना दिने गरेकामा मन्त्री गुरुङले असन्तुष्टि व्यक्त गर्नुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संस्था सुधारको पक्षमा मन्त्रीको ‘स्प्रिट’सँगै आफू रहेको उल्लेख गर्दै मन्त्रालयसँग समन्वय गरेर अघि बढ्दै आएको स्पष्ट पार्नुभयो । उहाँले मन्त्रालयले दिएको निर्देशनको पूर्ण परिपालना गरिने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा कुनै गुनासो आउन नदिइने विश्वास दिलाउनुभयो ।

राससलाई सरकारको भरमा मात्रै सीमित नराखी आत्मनिर्भर गराउने योजनाका साथ अघि बढेको जानकारी दिँदै कार्यकारी अध्यक्ष झाले पछिल्ला समय सेवा विविधीकरण गरिएको बताउनुभयो ।

“सेवा विविधीकरण गरे पनि जनशक्तिको अभाव हुँदा प्रभावकारी सेवा प्रवाहमा बाधा सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न मन्त्रालयको विशेष सहयोगको अपेक्षा गरिएको छ ।” कार्यकारी अध्यक्ष झाले सञ्चार माध्यमका विषयवस्तु (कन्टेन्ट) विकास गर्ने संस्थाका रुपमा रहेको राससलाई विभिन्न मातृभाषाका समाचार उत्पादनको जिम्मेवारी दिन आग्रह गर्नुभयो । उहाँले सो जिम्मेवारी दिएमा पूरा गर्ने विश्वास दिलाउनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले राससले सम्पादन गर्दै आइरहेको सेवाका बारेमा जानकारी दिँदै समाचार सेवालाई २४ सै घन्टा प्रवाह तथा विभिन्न मातृभाषाका बुलेटिन प्रकाशनको तयारी भइरहेको बताउनुभयो ।

मन्त्री गुरुङलाई रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक राई, नायब महाप्रबन्धक, विभागीय प्रमुख लगायत कर्मचारीले स्वागत गर्नुभएको थियो । सो क्रममा मन्त्री गुरुङले रासस समाचार कक्षको अवलोकन समेत गर्नुभयो । यसअघि उहाँले गणतन्त्र दिवसको अवसर पारेर ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकमा आयोजना गरिएको तस्बिर प्रदर्शनको समेत अवलोकन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button