संघीय निजामती ऐन दुई महिनाभित्रै पारित गर्छु : मन्त्री गुप्ता

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विगत आठ वर्षदेखि अलपत्र परेको संघीय निजामती ऐन अबको दुई महिनाभित्रै पारित गरिने बताउनु भएको छ ।
मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला पर्सामा आइपुगेका मन्त्री गुप्ताले आज वीरगंजमा नेकपा एमाले पर्साद्वारा आयोजित स्वागत तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अब छिट्टै कर्मचारीको सरुवामा देखिएको बेथिति अन्त्य हुने दाबी गर्नु भयो ।
उहाँले आफूले मन्त्रालय सम्हालेको ८ दिनमात्रै भएको बताउँदै सो अवधिमा सङ्घीय निजामती कर्मचारी ऐन र कर्मचारीको सरुवालाई व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
नेकपा एमालेका केन्द्रिय सदस्यसमेत रहनु भएका मन्त्री गुप्ताले माओवादी अध्यक्ष प्रचण्डले आँफु प्रधानमन्त्रीमा रहिरहन एमाले र काँग्रेसलाई पालैपालो खेलाएका कारण अहिले राजनीतिक स्थायित्वका लागि एमाले–कांग्रेस एक ठाउँमा आएको बताउनु भयो ।
पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका मन्त्री गुप्ताले वर्तमान सरकारको सामु धेरै चुनौतीहरू रहेको भएपनि देश र जनतालाई समृद्ध बनाउँदै देशमा अमूल परिवर्तन ल्याउने काममा सरकार पछाडि नपर्ने दाबी गर्नु भयो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले देशमा परिवर्तन र समृद्धि ओली प्रधानमन्त्री हुँदा भएको कारण नेपाली जनताको आसा र भरोसाको केन्द्र बनेको वर्तमान सरकारले जनताले देख्ने र अनुभूति गर्ने गरी काम गर्ने चुनौती रहेको बताउनु भयो ।
फरक प्रसङ्गमा मन्त्री गुप्ताले पर्सामा एमाले पार्टीभित्र रहेका झिनामसिना मतभेदलाई बिर्सिएर एकताबद्ध भई सङ्गठन निर्माणमा लाग्न नेता–कार्यकर्तालाई निर्देशन दिनु हुँदै सबै मिलेमा पर्सामा नेकपा एमाले एक नम्बर पार्टी बन्ने दाबी गर्नु भयो ।
नेकपा एमाले पर्साका अध्यक्ष डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल, नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष विचारी यादव, केन्द्रिय सदस्य अरविन्द सिंह, प्रधुमन चौहान, जयप्रकाश थारु, शिव पटेल, जिल्ला उपाध्यक्ष मनोज गुप्ता, जिल्ला सचिव महेश दास लगायतको पनि सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्