तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंज भन्सारद्वारा गत आर्थिक वर्षमा एक खर्ब ५७ अर्ब ४० करोड राजश्व सङ्कलन  

वीरगंज । मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सार कार्यालय आइसिपीले  चालु आर्थिक वर्ष २०८०/८१  मा १ खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार राजस्व सङ्कलन गरेको छ ।

अर्थ मन्त्रालय भन्सार विभागले चालु आर्थिक बर्ष २०८०/८१ का लागि आइसिपी भन्सारलाई २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि माल सामानको आयातमा यस आर्थिक वर्षमा समेत गिरावट आएसँगै आर्थिक बर्ष २०८०/०८१ मा लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आइसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार वीरगंजले तोकिएको लक्ष्य भन्दा झण्डै ३६ प्रतिशत कम राजस्व असुली गरेको छ ।

अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा आर्थिक बर्ष २०८०/०८१ मा ८८ अर्ब ४८ करोड १९ लाख ५४ हजार कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।  

यसैगरी वीरगंज भन्सार कार्यालयले भन्सार महसुल आयात तर्फको ५८ अर्ब २७ करोड ९९ लाख ८३ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि कर तर्फ ६६ अर्ब ७५ करोड ८४ लाख राजस्व असुली भएको छ । 

त्यसैगरी अन्त शुल्क तर्फ १० अर्ब १९ करोड ८७ लाख ८० हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो । 

त्यसैगरी वीरगंज भन्सार कार्यालयले पूर्वाधार कर तर्फ १४ अर्ब ४३ करोड ५१ लाख ५४ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १ अर्ब ३८ करोड ९८ लाख ६२ हजार असुली गरेको छ । 

यसैगरी वीरगंज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुर तर्फ ३ अर्ब ६७ करोड ६४ लाख ७४ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा १ अर्ब ९९ करोड ५२ लाख ७७ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । 

यसैगरी आइसिपी भन्सार कार्यालयले हरित कर तर्फ २६ करोड ९९ हजार राजस्व असुली गरेको छ भने विलासिता शुल्क बापत ६६ लाख १९ हजार राजस्व असुली गरेको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । यता भन्सारले भन्सार महसुलको निर्यात तर्फबाट २ करोड ३९ लाख ५० हजार राजस्व असुली गरेको छ भने स्वास्थ्य जोखिम कर तर्फ १ करोड १५ लाख ६७ हजार राजस्व असुली गरेको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button