तपाईँ सुन्दै हुनुहुन्छः

रुसी–अमेरिकी पत्रकार गेसनलाई ८ वर्षको कारागार सजाय

मस्को । रुसी सेनामाथि युक्रेनमा अपराध गरेको आरोप लगाउने एक रुसी–अमेरिकी पत्रकारलाई सोमबार मस्कोको एक अदालतले उनको अनुपस्थितिमा आठ वर्षको कारागार सजाय सुनाएको छ ।

न्यु योर्करमा नियमितरूपमा योगदान गर्ने मासा गेसनले रुसी सेनामाथि सन् २०२२ मार्चमा युक्रेनी सहर बुचामा नागरिकको हत्या गरेको आरोप लगाउनुभएपछि उहाँलाई गत वर्ष रुसमा वाञ्छित घोषणा गरिएको थियो । क्रेमलिनले उक्त आरोपलाई अस्वीकार गरेको छ ।

मस्को सिटी कोर्ट सर्भिसको विज्ञप्तिअनुसार अदालतले ‘रुसी सेनाको प्रयोगबारे जानीजानी गलत सूचना फैलाएको’ आरोपमा गेसनलाई आठ वर्षको कारागार सजाय सुनाएको हो । 

युक्रेनमा आफ्नो आक्रमण सुरु गरेलगत्तै रुसले द्वन्द्वका बारेमा स्वतन्त्र रिपोर्टिङलाई अवैध बनाएको थियो र आफ्ना सशस्त्र बलहरूको आलोचनालाई गैरकानूनी घोषणा गरेको थियो ।

अहिले संयुक्त राज्य अमेरिकामा बस्ने गेसन प्रमुख एलजिबिटिक्यु कार्यकर्ता हुनुहुन्छ । उहाँ राष्ट्रपति भ्लादिमिर पुटिनको लामो समयदेखिको आलोचक हुनुहुन्छ । उहाँले सन् २०१२ मा रुसी नेता पुटिनको घृणित जीवनी लेख्नुभएको थियो ।

मस्कोको एक अदालतले पनि सोमबार रुसी सेनाका बारेमा कथित रूपमा ‘जालसाजी’ फैलाएको आरोपमा एक नगरपालिकाका पूर्व डेपुटीलाई उहाँको अनुपस्थितिमा साढे सात वर्षको कारागार सजाय सुनाएको छ । 

काउन्सिलको बैठकमा युक्रेनमा द्वन्द्वका पीडितहरूका लागि एक मिनेट मौन धारण गर्ने प्रस्ताव राखेपछि सात वर्षको कारागार सजाय भोग्नुभएकी डेपुटी एलेक्सी गोरिनोभको पक्षमा बोलेको अभियोगमा रुसबाट भाग्नुभएकी एलेना कोटेनोचकिना दोषी ठहर हुनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button