मोरङका उत्कृष्ट सामुदायिक तथा निजी वन पुरस्कृत

विराटनगर । डिभिजन वन कार्यालय मोरङले जिल्लाका उत्कृष्ट सामुदायिक तथा निजी वनलाई नगद सहित पुरस्कृत गरेको छ ।
कार्यालयले विराटनगरमा आज एक कार्यक्रमको आयोजना गरि चालु आर्थिक वर्षमा उत्कृष्ट सेवा प्रदान गर्ने सो कार्यालय तथा कार्यालय मातहतका कर्मचारीलाई समेत सम्मान गरेको छ ।
सो अवसरमा उपभोक्तालाई दिने सेवा प्रवाहको मूल्याकंनको आधारमा वसन्त सामुदायिक वन उपभोक्ता समिति लेटाङ प्रथम भएको छभने नक्सल सामुदायिक वन उपभोक्त समिति वेलवारी द्वितीय र सिंहदेवी सामुदायिक वन वेलवारी तथा सलकपुर सामुदायिक वन सुन्दर हरैचा दुवै सामुदायिक वन तृतीय भएका छन् ।

त्यसैगरि निजी वनतर्फ सन्तोष लामा तामाङ मिक्लाजुङ प्रथम,श्रीमती इसरी थारु ग्रामथान द्वितीय तथा सूर्यबहादुर रायमाझी उर्लाबारी, प्रेमप्रसाद रायमाझी, उर्लाबारी र गोपालबहादुर थापा उर्लाबारी सहित तिन जना तृतीय भएका छन् । प्रथम , द्वितीय र तृतीय हुने सामुदायिक तथा निजी वनहरूलाई क्रमश ५ हजार ४ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरि सो कार्यालयले उत्कृष्ट काम गर्ने वन अधिकृत, फरेष्टर, वन रक्षक, नर्सरी नाइके वन सामाजिक परिचालक तथा सचिव गरि १३ जनालाई प्रसंशापत्र प्रदान गरेको छ । नर्सरी नाइके तथा वन सामाजिक परिचालकलाई केही नगद समेत प्रदान गरिएको डिभिजन वन कार्यालय विराटनगरका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । कार्यालय प्रमुख विष्णुलाल घिमिरे तथा कोशी प्रदेश वन निर्देशनालयका प्रमुख डा इन्द्र सापकोटाले उहाँहरूलाई सम्मान गर्नु भएको थियो ।
सो अवसरमा उहाँहरूले पुरस्कृत सामुदायिक तथा निजी वनका प्रतिनिधि तथा कर्मचारीलाई बधाई दिनुहुँदै आगामी दिनमा उपभोक्ताहरूलाई प्रत्यक्ष सहयोग पुग्नेगरि सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्