प्रधानमन्त्रीले आत्मसमीक्षा गर्नुपर्छ : सांसद यादव

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ, यसबारे आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राख्दै उहाँले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था किन आयो प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताउनुभयो ।
“किन आज प्रधानमन्त्रीले पटक पटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला”, सांसद यादवले भन्नुभयो, “किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।”
सांसद यादवले सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । आदिवासी, जनजाति, मधेसी तथा पछाडि परेका समुदायको पक्षमा संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उहाँले संविधान संशोधनका लागि समर्थन गर्ने जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्