दलित कोटामा अन्य समावेशी क्लस्टरका व्यक्ति राखिनु आपत्तिजनक

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले दलित वडा सदस्यको स्थानमा दलित नभएको खण्डमा अन्य समावेशी क्लस्टरका व्यक्ति राखिनु आपत्तिजनक भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले छुवाछुतजस्तो विभेद हटाउन आम सोचाइमै परिवर्तन आउनुपर्ने, दलित समुदायका बालबालिकालाई उच्च शिक्षासम्म निःशुल्क पढ्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । ।
बैठकमा राष्ट्रिय दलित आयोगले दलितको थर सूचीकरण गर्न सरकारले ढिलाइ गर्दा दलित समुदाय मर्कामा परेको बताएको छ । एक वर्षदेखि आयोगले थर सूचीकरण गराउन सरकार समक्ष सिफारिस गर्दै आए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलितको थर राजपत्राङ्कमा प्रकाशन गराउन समितिले सरकारलाई निर्देशन दिन आग्रह गर्नुभयो ।
समितिका सभापति किरणकुमार साहले दलित समुदायमाथि हुने कुनै पनि किसिमको विभेद् अन्त्य गर्ने कार्यको सुरुवात व्यक्ति स्वयम्बाट थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्