सेती नदीले धार परिवर्तन गरेपछि बझाङमा १८ परिवार विस्थापित

बझाङ । सेती नदीमा आएको बाढीले धार परिवर्तन गर्दा बझाङका १८ परिवार विस्थापित भएका छन् ।
सेती नदीमा आएको बाढी थलारा गाउँपालिका–९ झ्याँबगर गाउँ र केदारस्युँ गाउँपालिका–१ को पथुडातिर सोझिँदा झ्याँबगरका १४ र पथुडाका ४ परिवार गरी १८ परिवार विस्थापित भएका हुन् । झ्याबगर गाउँ दुइटा भँगालोको बीचमा परेको छ । गाउँ डुबानमा परेपछि १४ परिवार स्थानीय विस्थापित भएका हुन् । ‘गाउँको बीचमा सेती नदीको भँगालो पसेपछि बिहानै गाउँ छोडेका छौँ,’ झ्याँबगरका स्थानीयसमेत रहेका थलारा गाउँपालिका–९, का वडाध्यक्ष लोकेन्द्र बिस्टले भन्नुभयो, ‘नदीको सतह बढेको बढ्यै छ, जुनसुकै बेला पनि गाउँ बगाउन सक्छ ।’
बिहान पानीको सतह बढेपछि मानिस र वस्तुभाउ जोगाउन सफल भए पनि घरभित्रको सामान जोगाउन नसकेको जनप्रिय माध्यमिक विद्यालयका शिक्षकसमेत रहनुभएका अर्का स्थानीय नवीन बहादुर बिस्टले बताउनुभयो । यस्तै केदारस्युँ १ पथुडाका मंंगल भण्डारीले पनि सेतीले हेर्दाहेर्दै आँगनका रोपेका खेतहरू बगाएको र कटान नरोकिएकाले घर छोडेर भागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हेर्दाहेर्दै रोपेका खेतहरू बगिसके अब घर बग्न बेर लाग्दैन । हामी चार परिवारले घर छोडिसक्यौँ अझै तीन घरका पनि विस्थापित हुने क्रममा छन् ।’
सेती नदीले केदारस्युँ १ को देउरा, पथुडा र रायल, थलारा गाउँपालिकाको वडा नम्बर ९ झ्याबगर, लिस्ताडा, वडा नम्बर १ को रेगम, छबिसथिभेरा १ को भण्डारी गाउँ, परिङ्गाल, बगडगाउँ र जयपृथ्वीनगर पालिकाको वडा नम्बर ११ भोपुरमा सेती नदीले धारी परिवर्तन गरी कटान सुरु गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्