पाँचदिन देखिको निरन्तर बर्षाले जनजीवन प्रभावित

अर्घाखाँची। अर्घाखाँचीमा विगत पाँच दिनदेखि परेको लगातारको झरीले जनजीवन प्रभावित बनेको छ ।
लगातारको वर्षाले सडक अवरुद्ध गर्नुका साथै विद्युत्, खानेपानीका क्षेत्रमा समेत असर पुर्याएको छ । जिल्लाको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा बाटो पटक पटक अवरुद्ध बनेको छ । सडक सुचारु गर्ने प्रयत्न भईरहेपनि वर्षा नरोकिएपछि समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै सदरमुकाम सन्धिखर्कबाट गाउँ जाने सडकहरू पनि अवरुद्ध हुँदा आवत जावतमा कठिनाइ भएको छ । प्रदेश राजधानी जोड्ने गच्छे–भालुबाङ सडक, सन्धिखर्क–बलकोट–तम्घास सडक, सन्धिखर्क–पाल्पा सडक, सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक, सन्धिखर्क–असुरकोट–प्युठान सडकका कतिपय स्थानमा पहिरोले अवरुद्ध गरेको छ भने कतिपय स्थानमा हिलोले यात्रामा कठिनाइ भएको छ ।
जिल्लाको मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क लगायत ग्रामीण भेगमा जाने सवारी पूर्ण रुपमा प्रभावित हुँदा आवत जावत कष्टकर बनेको हो । ग्रामीण भेगमा दुईदिनदेखी बिजुली अवरुद्ध भएको छ । रुख ढल्ने, पोल ढल्ने, तार चुँडिने लगायतका कारण जिल्लाका कतिपय स्थानमा विद्युत् अवरोध भएको छ । सदरमुकाम आसपास बत्ती भएपनी ग्रामीण भेगमा भने विद्युत् नहुँदा समस्या भएको छ ।
यस्तै लगातारको वर्षाले खानेपानीमा क्षति पुर्याएको छ । मुहान पुरिने, पाइप बगाउने लगायतका समस्याले पानी नआउँदा दैनिकी प्रभावित बनेको छ । सन्धिखर्क खानेपानीमा समस्या आउँदा १२ घण्टापछि सुचारु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्