तपाईँ सुन्दै हुनुहुन्छः

स्वाभिमानी नेपालीलाई कहिल्यै झुक्नु परेन : अध्यक्ष ओली

रुपन्देही । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री एवं केपी शर्मा ओलीले नेपाल सधैँ स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनै पनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताउनुभएको छ ।

नेकपा एमालेको भातृ सङ्गठन अनेरास्ववियु रुपन्देहीले आज आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा अध्यक्ष ओलीले भूगोलमा सानो भएपनि स्वाभिमानमा देश सधैँ उँचो रहेको बताउनुभयो ।

कार्यक्रम अवधिभर कुनै राजनीतिक मन्तव्य नदिनुभएका अध्यक्ष ओलीले सैद्धान्तिक रुपमा विद्यार्थीको मन जित्ने गरी भाषण गर्नुभएको थियो ।

“विश्वका धेरै मुलुकले स्वतन्त्रता दिवस मनाइरहेका हुन्छन्, हामीसँग स्वतन्त्रता दिवस छैन, सधैँ स्वतन्त्र भयौँ, कहिले कसैको दास भएनौँ, हामीसँग त्यो दिवस नै छैन  । यो गर्वको विषय हो । हामी ती पूर्वजका सन्तान हौ । त्यसैले हामीले केही गरेर देखाउँछौँ भन्ने हिम्मत छ”, उहाँले भन्नुभयो, “मौका पायो कि नेपालीले गर्छ, हामी त्यस्तो पुर्खाका सन्तान हौँ, पूर्वज आविष्कारक थिए, धेरै खोज गरेका थिए, त्यसैको बलमा अहिले हामी बलियो बनेका हौ, सफलता त्यसको जगमा छौँ ।”

अध्यक्ष ओलीले आफू सफलतामा खुसी साट्न आएको बताउनुभयो । “म सफलतामा खुसी साट्न आएको हुँ, सफलताको सुरुवात मात्रै हो, सफलता पाउन इमानदार प्रयास हुनुपर्छ, इमानदारिताले सफलता खोज्छ, यो जुनसुकै क्षेत्रमा यो प्रयोग हुन्छ ।”,  उहाँले भन्नुभयो, “पहिले आफूलाई चिन्नुपर्छ, ज्ञानको सुरुवात यहीँबाट भएको धेरै प्रमाण छन्, अनेक कुराका ज्ञान यहीँबाट सुरु भएका हुन् ।”  

उहाँले नेपालमा भएका धेरै अनुसन्धानले विश्वमा बजार पाउन नसकेको सुनाउनुभयो । “हामीले आविष्कार गरेका विषय प्रचारमा नआएका हुन्, धेरै जेनेटिक मेमोरी छ । देश सानो भएर केही हुँदैन । प्रतिभा प्रस्फुटन हुन नपाएको धेरै छ ।, अब यसलाई अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।  

उहाँले एसइईको पूरक परीक्षा दिने विद्यार्थीहरूलाई निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताउनुभयो । शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरू एसइई परीक्षामा अनुत्तीर्ण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य मुख्य विषयहरूको निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिने जनाउनुभयो ।  

“अबको केही दिनभित्रै विषय विज्ञ शिक्षकहरूबाट मुख्य विषयहरूको अनलाइन कक्षा सञ्चालन हुन्छ, मुख्यगरी अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरू एसइई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्दै छौँ त्यसमा जोडिन सबै विद्यार्थीहरूलाई मेरो आग्रह छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले फेल भएका विद्यार्थीहरूलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन आग्रह गर्नुभयो । “अझै पनि केही बिग्रिएको छैन मौका परीक्षा आउन एक महिना समय बाँकी छ, यो समयमा राम्रो तयारी गरेर पास हुने गरी परीक्षा दिनुभयो भने अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुने छ त्यसको लागि तयारी राम्रो गर्नुपर्‍यो”, उहाँले भन्नुभयो ।

२०८० चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइई परीक्षामा नन ग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ।  सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइनमार्फत निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो। उहाँले शिक्षकहरूमा आफूभित्र भएको ज्ञान समेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरू फेल भएको बताउनुभयो। “अब शिक्षकहरूमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।अनेरास्ववियुले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ६ स्थित रामापुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रुपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २८ जना विद्यार्थीलाई सम्मान गरेको छ।

कार्यक्रममा एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरे, अनेरास्ववियुका अध्यक्ष समिक बडाललगायतले विद्यार्थी सम्मान कार्यक्रमले विद्यार्थीहरूलाई उत्प्रेरणा थपेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button