तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार मर्यादित भए नेता अनुशासित हुन्छन् : उपसभामुख रानामगर

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले पत्रकार मर्यादित भएमात्र समाज र नेता अनुशासित हुने बताउनुभएको छ ।

क्रियाशील पत्रकार महिला ले पत्रकार महिलाहरूको नेतृत्व एवम् क्षमता विकासका लागि आज काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उपसभामुख रानामगरले विकसित देशमा पत्रकारको भूमिकाको कारण सुशासन कायम भएको भन्दै नेपालमा पनि सुशासन कायम गर्नका लागि पत्रकारको मुख्य भूमिका रहने बताउनुभयो ।

उपसभामुख रानामगरले अहिलेको डिजिटल युगमा विश्वले तुरुन्तै सूचना थाहा पाउने भएकाले सही सूचना सम्प्रेषण गर्न अनुरोध गर्दै पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले बजेटमा प्राथमिकता दिनुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले जबसम्म नीति निर्माण तहमा पत्रकार महिला पुग्दैनन् तबसम्म केही गर्न नसकिने भन्दै आफूलाई प्रविधिसँग जोडेर पत्रकारितामा टिक्न र बिक्न सक्ने बनाउनुपर्ने बताउनुभयो।

उज्यालो एफएमका निर्देशक मन्टेश्वरी राजभण्डारीले पहिले र अहिले पत्रकारिताको स्वरूप फेरिएको भन्दै तालिम र अवसरले पत्रकारलाई निखार्ने बताउनुभयो।

क्रियाशील पत्रकार महिलाको संस्थापक अध्यक्ष सङ्गीता लामाले पहिले र अहिले पत्रकारिता र मिडियाको स्वरूप फेरिएको बताउनुभयो ।

क्रियाशील पत्रकार महिलाको आयोजना तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहयोगमा आयोजित कार्यक्रममा करिब ५५ जनाभन्दा बढी पत्रकार महिलाको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button