तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा महानगरको नीति तथा कार्यक्रम : १५ लाख पर्यटक भित्राउने लक्ष्य

पोखरा । पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्ष पोखरा भ्रमण वर्ष २०२५ घोषणा सहित १५ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार पोखरा १५ औँ नगर सभामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत: गर्दै उक्त कुरा उल्लेख गर्नुभएको हो ।

आगामी सन् २०२५ लाई पोखरा भ्रमण वर्ष २०२५“ घोषणा गरी, संघ र प्रदेश सरकार तथा नीजि क्षेत्र सँग सहकार्य गरी पोखरामा पर्यटक आगमनको सङ्ख्या कम्तीमा १५ लाख पुर्‍याइने मेयर आचार्यले जनाउनुभयो । नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमा ६० प्रतिशत पोखरा आउने वातावरण बनाउन तदनुरूप रणनीति अवलम्बन गरिने उहाँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

पर्यटन राजधानी पोखरामा पर्यटकीय पूर्वाधार निर्माणमा आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीको लागि प्रोत्साहित गर्न लगानी बैठक आयोजना गरिने भएको मेयर आचार्यले जनाउनुभयो ।

फेवातालको उत्तर पश्चिमी खण्डमा बायो–इन्जिनियरिङ अध्ययनको आधारमा मडड्याम निर्माण प्रक्रिया सुरु गरिने भएको छ भने हर्पन खोला र फेवातालको सङ्गममा फेवाबिच निर्माण गरिने भएको छ । फेवाताल जाने सडकको सहिद चोकदेखि हल्लन चोक सडक खण्डमा र सिद्धार्थ चोकदेखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलिकरण लागू गरिने भएको छ ।

सहकारी सुशासनमा देखिएको विद्यमान समस्या र चुनौतीको विश्लेषण एवं मूल्याङ्कन गरी आवश्यक नीतिगत सुधार, अनुगमन र कानुन बमोजिमको कारबाहीलाई योजनाबद्ध रूपमा अघि बढाइने भएको छ ।
पूर्णपाठः

प्रतिक्रिया राख्नुहोस्

Back to top button