वीरगन्ज महानगरपालिकाको बजेट २ अर्ब ८९ करोड
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको आज सम्पन्न १५ औँ नगर सभाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८९ करोड ४८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज सम्पन्न १५ औँ नगर सभामार्फत सार्वजनिक भएको बजेट चालु आर्थिक वर्षभन्दा ६२ करोड रुपैयाँ घटेर बजेट सार्वजनिक गरिएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा बीरगंज महानगरले संशोधित सहित ३ अर्ब ५१ करोड रुपैयाँको बजेट पारित गरेको थियो ।
आज एक कार्यक्रमबिच बजेट सार्वजनिक गर्दै बीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजस्व असुलीमा आएको सङ्कुचनको कारण राजस्व बाँडफाँड घट्न गएको, घरजग्गा कारोबारमा आएको मन्दीको कारणबाट घरजग्गा रजिस्ट्रेसन आयस्रोतसमेत घट्न जाँदा आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको बताउनुभयो ।

चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्ध बनाउने गरी विशेष कार्यक्रम समेटेको आलमले दाबी गर्नुभयो । नगरसभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात् ७०.७ प्रतिशत छुट्टाइएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात् २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।
महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको अधिवेशनमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरु र कर्मचारीहरूको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्