तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दीको हिलापोखरीमा सिँचाइ आयोजनाको पक्कि नहर

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ हिलापोखरीमा सिँचाइ  आयोजना निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ  डिभिजन कार्यालय म्याग्दीले उपभोक्ता समिति मार्फत हिलापोखरीमा सिँचाई आयोजना निर्माण गरेको हो । उपभोक्ता समितिका अध्यक्ष रमेश पौडेलले तीनसय ६० मिटर लामो पक्कि नहर निर्माण गरिएको जानकारी दिनुभयो । “च्युरीबोट स्थित घट्टेखोला हुँदै पच्चिस मुरेसम्म तीनसय ४९ मिटर पक्कि नहर बनाउने लक्ष्य रहेकोमा सो भन्दा बढी बनाएका छौ ,” उहाँले भन्नुभयो “गत वैशाख महिनादेखि थालिएको नहर निर्माणको काम यसै साता सकिएको हो ।”  यस योजना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १५ लाख बजेट बिनियोजन गरेको छ । आयोजना मार्फत पक्कि नहरको अतिरिक्त ४८ मिटर पाइपलाइन जडान गरिएको छ । 

उपभोक्ता समितिका सचिव फिरोज घर्ती मगरले स्थानीय मजदुर परिचालन गरेर सिँचाई आयोजना निर्माण गरेको जानकारी दिनुभयो । बीस घरधुरी भन्दा बढी कृषकको दुई सय रोपनी बढी खेतबारी र बगैँचामा  सिँचाइ गर्न सहज भएको छ । यसअघि खोल्साको पानी कच्ची नहरबाट बगाउदा चुहिने र भासिने समस्या थियो ।सिँचाइ अभावमा आकाशे पानीको भरमा एक बाली मात्र लगाउने गरिएको थियो । सिँचाइ सुविधा भयो भने बाह्रै महिना खेती लगाउन सकिने भएको छ । 

खानेपानी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष म्याग्दीमा ६०   सिँचाइ आयोजना सञ्चालन भएको कार्यालय प्रमुख झलकमोहन ओझाले बताउनुभयो । बादुक र घारेनी कोत्रवाङ सिँचाइ आयोजनाको बहुवर्षीय ठेक्का आव्हान गरेको र अन्य आयोजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गरिएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button