तपाईँ सुन्दै हुनुहुन्छः

मधेशको समृद्धि र सुशासनका लागि मधेशी मोर्चाको आवश्यकता : नेता यादव

वीरगंज । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं मधेशी राष्ट्रिय मुक्ति मोर्चाका संयोजक मातृका यादवले मधेशको समृद्धि र सुशासनका लागि मधेशी मोर्चाको आवश्यकता बढेर गएको बताउनु भएको छ । 

मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको वीरगंजमा सम्पन्न हुन गई रहेको विस्तारित बैठकको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यादवले संविधानमा उल्लेखित अधिकारको पूर्ण कार्यान्वयन र बाँकी अधिकारको लागि जनपरिचालन गर्नका लागि सम्मेलनको आयोजना गर्न लागिएको बताउनुभयो । 

उहाँले मधेशको समृद्धिको लागि सुशासन, स्वायत्तता र विकास निर्माणमा हस्तक्षेपकारी भूमिका लागि मोर्चाको प्रतिबद्धता आवश्यक रहेको दाबी गर्नुभयो ।

मोर्चाका संयोजक यादवले शुक्रबार र शनिबार हुने विस्तारित बैठकमा तराई मधेशका विभिन्न जिल्लाहरूबाट सयौँको सङ्ख्यामा प्रतिनिधिहरुको सहभागी रहने जानकारी दिनुभयो । 

मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालको आयोजना र प्रेस सेन्टर नेपाल पर्साको संयोजनमा गरिएको पत्रकार सम्मेलनमा उपमहासचिव यादवले वीरगंजमा हुन गइरहेको विस्तारित बैठकले कोमामा गएको मधेशी मोर्चालाई नयाँ ऊर्जा थप्ने बताउनुभयो । 

उहाँले मधेशी मोर्चाको इतिहासबारे गम्भीर समीक्षा गरेर भविष्यको दिशा निर्माण गर्नुपर्ने बताउँदै जनयुद्धमा करिब १४ सय मधेशीले आफ्नो ज्यान गुमाएको स्मरण गर्नुभयो । 

उपमहासचिव यादवले सबैभन्दा उत्पीडित तथा उपेक्षित मधेश र मधेशी भएकोले समानुपातिक समावेशी प्रतिनिधित्व तथा धर्मनिरपेक्षता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र मधेशको लागि अपरिहार्य भएको कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button