तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो बहस कार्यक्रम : गरिबी निवारण र युवा स्वरोजगारलाई अगाडी बढाउनुपर्नेमा जोड

वीरगञ्ज । बीरगंज महानगरपालिकाले सरसफाई, सौन्दर्यीकरण सँगसँगै गरिबी निवारण र युवा स्वरोजगार कार्यक्रमलाई एकसाथ अगाडी बढाउनुपर्ने कुरामा वक्ताहरूले जोड दिनुभएको छ ।

रेडियो नेपालद्वारा आज वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा आयोजित रेडियो बहस कार्यक्रमका वक्ताहरूले भौतिक विकाससँगै सामाजिक विकासलाई समेत सँगसँगै अगाडी बढाउनुपर्ने कताउनुभयो ।

बहस कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले ५ नम्बर वडालाई स्मार्ट वडा घोषणा गरिएको र वडाका सम्पूर्ण समस्यालाई एकीकृत रुपमा समाधान गर्दै वडा नेतृत्व अगाडि बढेको बताउनुभयो ।

उहाँले वडाको सरसफाई, सडक, ढल नलको व्यवस्थापनसँगै महिला तथा युवा स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्नुहुँदै वडावासीको माग अनुरुप खानेपानी, स्वास्थ्य, शिक्षा, लगायतका आधारभूत आवश्यकता पुरा गर्ने कार्यमा आफूहरू जुटेको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य मञ्जु दाहालले ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र सहजरुपमा उपलब्ध गराउन महानगरपालिका र सम्बन्धित सरोकारवाला निकायले ध्यान दिनुपर्ने भन्नुहुँदै बृद्धवृद्धा, असक्त, अपाङ्गता भएकाहरूलाई राज्यले थप सुविधा दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी, वडा सदस्य मनोज कुमार साहले स्मार्ट वडाको लक्ष्य अनुरुप आफूहरूले वडालाई प्रविधिमैत्री बनाउँदै गएको बताउनुभयो ।

कार्यक्रममा वडा सचिव अरुण कुमार बस्नेतले वडाबाट प्रदान गरिने सिफारिस, मृत्यु दर्ता, जन्म दर्ता, नाता प्रमाणित लगायतका सेवा सुविधालाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै जनप्रतिनिधि र कर्मचारी बिच कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो ।

त्यसैगरी, बहस कार्यक्रममा सहभागी स्थानीय समाजसेवी एवं शिक्षाविद् केशव भण्डारीले खानेपानीको व्यवस्थापन र बिजुली तथा इन्टरनेट टेलिफोनको तार अण्डरग्राउण्ड गरी वडाको सौन्दर्यीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सृजनशील आमा समूहकी सदस्य सरिता वर्णवालले महानगरले प्रदान गरेको सेवा सुविधा सन्तोषजनक रहेको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा स्थानीय युवा सुबोध कुमार वर्णवालले युवा स्वरोजगार कार्यक्रमका साथै खेलकुदको क्षेत्रमा महानगरपालिकाले लगानी थप गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमको सहजिकरण रेडियो नेपालका वीरगन्ज सम्वाददाता ध्रुव अधिकारीले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button