तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौ, ३० जेठ ः सङ्घीय संसद भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागीहरू । तस्बिर ः रत्न श्रेष्ठ, रासस

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले अविरल वर्षासँगै शुरुभएको प्राकृतिक विपत्ति, त्यसले पुर्‍याएको क्षति, क्षति न्युनिकरणका लागि सरकारले गर्नुपर्ने पहल लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको सुरुमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गर्नुभएको विषयमा जानकारी गराउन माग गर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुभएको र भ्रमणका क्रममा भएका सहमति, सम्झौता लगायतका विषयमा सरकारले सदनमा जानकारी नगराएको भन्दै प्रमुख सचेतक लेखकले असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा अविरल वर्षाका कारण गएको पहिरोले घर बगाउदा जनधनको क्षति भएको भन्दै सम्बन्धित परिवारलाई समयमा नै क्षतिपूर्तिको व्यवस्था गर्न र विपद् जोखिम न्यूनीकरणका लागि काम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले वर्षा सुरु भएसँगै देशका विभिन्न भागमा बाढी पहिरो र डुबानको समस्या शुरु भइसकेको र क्षति हुन थालिसकेको भन्दै क्षति न्युनिकरणका लागि आवश्यक पूर्वाधार सहित तयारी अवस्थामा रहन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसदहरुले विपद्का समयमा महिला बढी पीडित बन्नुपरेको भन्दै उनीहरूको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सभामुख देवराज घिमिरेले संसद्को शुुन्य, विशेष र आकस्मिक समयमा सांसदहरूले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button